सेवाग्राहीको प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण
वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०९:३८
shares

पर्वत । जिल्ला प्रशासन कार्यालय, पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिलो चरणमा हरेक बुधबार स्वास्थ्य परीक्षण गरिने र विस्तारै प्रभावकारी हुँदै गएमा शनिबारबाहेक सबै दिन सुविधा दिइने बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ ।
स्वास्थ्यकर्मीले सेवाग्राहीको उच्चरक्तचाप, सामान्य रुघाखोकी, ज्वरो, चोटपटकलगायतका समस्याको तत्काल उपचार गर्नेछन् भने जटिल रोगका लागि उचित परामर्श प्रदान गरिने जिल्ला कारागारका स्वास्थ्य सहायक धनकुमारी पुनले बताउनुभयो ।












