सडक दुर्घटनामा नेतृ शाहीको मृत्यु

२०७५ कात्तिक २९ बिहीवार
939
shares
बाँके । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
भे १ च १६७२ नम्बरको निजी मालवाहक भ्यानले शाही सवार भे २ प ३०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे १ ह ३४७७ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

२०७५ कात्तिक २९ बिहीवार