रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
घरमै बसेर उपचार गर्ने
वि.सं.२०८२ माघ १५ बिहीवार १८:५५
shares

१५ माघ, काठमाडौं।रास्वपाका सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएपछि र अस्पतालमा भेटघाट गर्नेहरूको भीड बढ्न थालेपछि उनले घरमै बसेर आराम गर्ने भन्दै डिस्चार्ज मागेको अस्पतालले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंका अनुसार लामिछानेलाई ‘सेलुलाइटिस’ संक्रमण देखिएको थियो।
लामिछाने ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए। स्टेजबाट ओर्लिने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। सुरुमा सामान्य चोट ठानेर केही औषधि खाए पनि उपचारमा लापरवाही भयो। त्यसपछि उनी आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फ चुनावी कार्यक्रममा व्यस्त भए, जसका कारण नियमित औषधि खान पाएनन्।
समयसँगै दुखाइ बढ्दै गयो, घाउ सुन्निन थाल्यो र खुट्टा रातो भयो। चोट लागेको करिब ९ दिनपछि उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए। परीक्षणका क्रममा उनलाई सेलुलाइटिस भएको पुष्टि भयो।
‘अस्पतालमा भेटघाट गर्न आउनेहरूको भीड बढ्न थाल्यो। स्वास्थ्य अवस्थामा पनि सुधार आएपछि उहाँले घरमै बसेर आराम गर्छु भन्नुभयो,’ डा. सेढाईंले भने, ‘घरमै बसेर पनि एन्टिबायोटिक दिन सकिने भएकाले डिस्चार्ज गरेका हौं।’
उनलाई नसामार्फत तीन प्रकारका एन्टिबायोटिक औषधि दिइएको अस्पतालले जनाएको छ। अहिले उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूको भनाइ छ।
















