सरकारले अब लक्षण देखिने बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने

13.49K
shares

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले अब बिरामीलाई मात्रै अस्पताल भर्ना गराउने भएको छ।

लक्षण नै नदेखिए कोरोना संक्रमितलाई अस्पताल नलगी क्वारेन्टाइनमै राख्ने तयारी सरकारले गरेको हो। केही दिनयता संक्रमितको दर २ सयभन्दा माथिले उकालो लाग्न थालेपछि सरकारले अब नयाँ विकल्प सोच्न थालेको हो।

देशभरका अस्पतालमा १६ सय संक्रमित मात्रै अट्ने पूर्वाधार तयार पारिएको छ। तर सोमबार कोरोना संक्रमितको संख्या २२६ ले बढेर १७९८ पुगिसकेको छ। यस्तो अवस्थामा व्यवस्थापनमा चुनौती देखेपछि सरकारले लक्षण नै नदेखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्ने निर्णय लिन लागेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब लक्षण नै नदेखिएका संक्रमितहरुलाई क्वारेन्टाइन या घरमै बस्न आग्रह गरिने जानकारी दिएका छन्।
‘लक्षण नदेखिएकाहरुलाई क्वारेन्टाइनलाई नै आइसोलसन बनाएर राख्ने तयारी गरेका छौं, अब उनीहरुलाई अस्पताल लगिने छैन’, सोमबार नियमित ब्रिफिङमा उनले भने, ‘कोरोनको लक्षण देखिएर बिरामी परेकाहरुलाई मात्रै अस्पतालमा राख्ने तयारी थालिएको छ।’

उनले क्वारेन्टाइन र आइसोलेसन अपुग भएमा लक्षण नभएकालाई घरमा नै बस्नुपर्ने स्थिति पनि आउने उल्लेख गरे। ‘संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको छ। अब संक्रमित र बिरामीलाई छुट्याएर राख्न सक्ने अवस्था आउँछ’, उनले भने, ‘यसबारेमा स्वास्थ्य मन्त्रालयले छिट्टै निर्णय लिन्छ। अब लक्षण देखिएका बिरामीले मात्रै अस्पतालमा बस्ने गरी व्यवस्थापन गर्छौँ।’


divya collage
unigloble collage