कोरोना विरुद्ध खोपको परिक्षण सहयोगमा प्रदेश मन्त्री दुलालको चासो!

12.21K
shares

हेटौंडा । निर्माण गरिएको दाबी गरिएको कोरोना भाइरस खोपको विषयमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि चासो दिएको छ । मन्त्रालयले यसबारे छलफल चलाएको हो ।

हेटौंडामा निर्माण भएको भनिएको खोपको विषयमा विश्व स्वास्थ्य संगठनले समेत चासो दिएपछि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले खोप निर्माण गरेको दाबी गर्नुभएका बनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा.ललितकुमार दाससँग शुक्रबार भेट गर्नुभएको छ ।

त्रिविअन्तर्गत् हेटौंडामा २०५५ सालदेखि सहप्राध्यापक रहनुभएका डा.दासले कोरोनाविरुद्ध खोप बनाएको दाबी गर्दै आउनुभएको छ । डा. दासले मन्त्री दुलाललाई उहाँले निर्माण गरेको खोपको विषयमा जानकारी गराउनुभएको थियो । यसबारे मन्त्री दुलालले भिडियो कन्फरेन्सका माध्यमबाट विज्ञहरुसँग परामर्श लिनुभएको थियो ।

‘सरकारले यसबारे काम अघि बढाउने मेरो आशा छ’, डा. दासले आवश्यक परेको बेला थप काम गर्दै जाने विश्वास दिलाउनुभयो । आफ्नो मेहनत यत्तिकै खेर नजाने पनि उहाँको विश्वास छ । कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उहाँको दाबी छ ।

उहाँले संस्थानको प्रयोगशालामा कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवम् जडिबुटी मिलाएर खोप (औषधि) बनाएको दाबी गर्दै आउनुभएको छ ।

डा. दासले बनविज्ञान अध्ययन संस्थानको ल्याबमा नेपालमा सजिलै पाइने जडिबुटी प्रयोग गरी कोरोना भाइरसविरुद्ध कोरोना संक्रमितलाई दिइने खोप र फलफूलबाट तयार गरिएको कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने खोप गरी दुईथरि खोप चैत १३ गते तयार पार्न शुरु गर्नुभएको थियो ।

प्राडा दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिताका सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत् नेपालसहित ७३ देशका विज्ञहरुसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधिका सम्बन्धमा छलफल गरेको प्राडा दासले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म एक सय १० भन्दा बढी औषधि विभिन्न चरणको परीक्षणका क्रममा छन् । तीमध्ये १० प्रकारका औषधि मानिसमा परीक्षण जारी छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083