सलह प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय
वि.सं.२०७७ असार १४ आइतवार १०:११
shares

बुटवल । नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए ।
प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएका कीरा सलह नै भएको पुुष्टि भयो ।
भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ ।
बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

















