मन्त्री प्रदीप ज्ञवालीको खुल्ला पत्र : निर्मम फैसला स्वीकार गर्नुपर्ला

10.91K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक नभई शीर्ष नेतृत्वमा व्यवस्थापनको कमजोरी रहेको बताएका छन् ।

ठूलो संघर्ष र पहलबाट दुई पार्टी एक भएर बनेको नेकपाको एकता जोगाउने मात्रै होइन त्यसलाई थप बलियो बनाएर जनता र देशको पक्षमा काम गर्नु पर्नेमा पार्टी आन्तरिक किचलोमा रुमलिनु उपुयक्त नभएको उनले पत्रमा उल्लेख गरेका छन् ।

शीर्ष नेतृत्वमा देखिएको व्यवस्थापनको समस्या तत्काल समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउनु पर्ने बताएका उनले लेखेका छन्, ‘पार्टी सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबिच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका नै दिएको छैन ।’

उनले अघि लेखेका छन्, ‘हाम्रा बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरखारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ ।’

नेता ज्ञवालीले अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान रहेको बताउँदै खुला पत्रमा लेखेका छन्, ‘ तपाईँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलब्धीहरु उभिएका छन् । पार्टी र राज्यका उच्च ओहदामा तपाईँहरुको अवस्थितिप्रति सहमति छ । तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न वाध्य हुनु पर्ने छ ।’

उनले अघि लेखेका छन्, ‘ यसो भयो भने इतिहासले तपाईँहरुका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिजोको तपाईँहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ? कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ ।’

यसैबिच स्थायी कमिटिबाट विवाद समाधान गर्ने प्रयास असफल हुँदा नेकपाको संकट थप तन्किएको छ । तन्किएको विवाद र पार्टीमा देखिएको फुटको संकट समाधानको प्रयासका लागि फेरि नेकपाका नेताहरुले सचिवालयमा छलफल गर्दै छन् । नेकपाले सचिवालय बैठक शनिबार दिउँसोका लागि बोलाएको छ । सचिवालय बैठकमा विवादको समाधान केन्द्रीय समिति मार्फत खोज्ने विकल्पबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सुरुमा केन्द्रीय सचिवालयले नै आन्तरिक कलह समाधानको प्रयास गरेको थियो । शक्ति संघर्षमा सचिवालय विभाजित भएपछि स्थायी कमिटिको बैठक बोलाइयो । तर स्थायी कमिटिले पनि समाधानको विकाल्प निकाल्न सकेको छैन । स्थायी कमिटि नै स्थगित गरेर शीर्ष नेताहरुबिच छलफल भयो ।

सुरुमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि ओली, प्रचण्ड र माधवकुमार नेपालसहितको छलफल भयो । ती छलफलमा शीर्ष नेताहरु अडान छोडेर विवाद समाधान गर्ने तर्फ लचिलो देखिएनन् । दोस्रो तहका नेताले लगाता दिएको दबाब पनि सफल हुन सकेको छैन । सुरुमा दुवै पद (प्रधानमन्त्री र अध्यक्ष) बाट ओलीले राजीनामा दिनु पर्ने अडानमा रहेका प्रचण्ड–नेपाल पक्ष केही लचिलो भएर प्रधानमन्त्रीबाट ओलीले राजीनामा गराउनु पर्ने मागमा आएको बताइए पनि ओली त्यसमा पनि सहमत देखिएका छैनन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083