जसले अरुलाई बचाउँदा ज्यान गुमाए

8.24K
shares

रुकुम पश्चिम : बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उमंग थियो । अन्य दिनभन्दा सवेरै उठेर उनले गाउँ चहारे । सुतेका साथीलाई उठाए । उनीहरुलाई तयार हुन भने । उनी आफू पहिल्यै तयार भइसकेका थिए ।

उनको योजना थियो– स्यार्पुतालमा माछा मार्न जाने । वर्षाको समयमा बिहान धेरै माछा मार्न सकिन्छ । यसैले पनि अनिल साथीहरुलाई छिटो गर्न भनिरहेका थिए । १२/१५ जना साथीहरु भेला भएपछि झोलामा रोटी बोकेर माछा मार्न स्यार्पुतालको ५ नम्बर वडातर्फको क्षेत्रमा पुगे । स्यार्पुतालमा मिसिने खारखोलामा माछाका आहारा किरा खोज्ने र त्यही तालमा खोला मिसिएको ठाउँ आसपास माछा मार्ने योजनामा अनिल र उनका साथीहरु त्यहाँ पुगेका थिए ।

तर, न त्यहाँ मारिएका माछा उनीहरुले खान पाए, न घरसम्म ल्याउन पाए । खान भनि घरबाट लगेका रोटीसमेत खान पाएनन् । बिहान उमंगमा गएको छोरालाई परिवारले देख्नसमेत पाएनन् ।

अनिल एक्लो छोरा थिए घरका । बाबु ७० वर्ष पुगेका छन्, तीनजना दिदीबहिनी । आमा सानो उमेर छँदै बितिन् । परिवारका सबै सदस्य विक्षिप्त छन् । अनिलसँगै माछा मार्न गएका अर्जुन भनेर चिनिने २३ वर्षीय लोकबहादुर घर्तीको घरमा पनि उस्तै बज्रपात परेको छ ।

डेढ वर्षीय छोराका बाबु लोकबहादुर त माछा मार्न भनी हिँडिसकेपछि बाटैबाट फर्केर समेत आएका थिए । तर, फेरि साथीभाईको सल्लाहमा गएका थिए । घर आएर उनले श्रीमतीलाई ‘आज जाँगर लागेन, जान्न’ पनि भनेका थिए । पछि फेरि साथीभाईको आग्रहमा फेरि स्यार्पुताल हिँडेका थिए । दोहोर्‍याएर गएका उनी आखिरीमा फर्केरै आएनन् ।

२० वर्षीय अनिल र २३ वर्षीय लोकबहादुर दाजुभाइका छोरा हुन् । उनीहरुसँगै माछा मार्न गएका साथीहरुका अनुसार त्यस दिन स्यार्पुताल पुगेपछि कोही बल्छी थापेर माछा मार्न थाले त कोही माछाका आहारा खोज्न थाले । स्यार्पुतालमा मिसिने खारखोला वरपर पाइने किरा माछाले खाने भएकाले उनीहरु किरा र गड्यौला खोज्न थाले । कोही तालमा पौडी खेल्न थाले ।

उनीहरुसँगै गएका गाउँकै १५ वर्षीय बालक कमल तालमा पौडी खेलिरहेका थिए । पौडी खेलिरहेका कमल एक्कासी ‘मलाई गाह्रो भयो’ भनेर कराउन थाले । उनी चिच्याएको सुनेर अनिल तालमा पसे । अनिलले कमललाई तानेर तालको किनारतिर ल्याउँदै शशी पुनलाई जिम्मा लगाए । कमललाई तानेर शशी तालबाट निस्किए । तर, अनिल भने निस्किन सकेनन् ।

अनिलले आफूलाई ‘असजिलो भएको’ भन्दै बचाउ भनेर चिच्याएपछि लोकबहादुर अनिललाई बचाउन तालमै मिसिने खोलामा पसे । खोलासँगै उनी तालमा त पुगे तर अनिललाई भेट्टाउन सकेनन् । धेरैबेर लोकबहादुरले अनिललाई खोजे । तर, न लोकबहादुरले अनिलको उद्दार गर्न सके न आफू नै बाहिर आउन सके । अनिललाई खोज्ने क्रममै लोकबहादुरको पनि ज्यान गयो । लोकबहादुरको शव डुबेको दिन ७ गते नै भेटिएको थियो । ८ गते पोष्टमार्टमपछि उनको दाहसंस्कार गरिएको थियो । अनिलको शव १० गते भेटियो । त्यसै दिन पोष्टमार्टमपछि ११ गते उनको दाहसंस्कार गरियो ।

यी दुवै युवा पौडी खेल्न जान्ने र पहिले पनि स्यार्पुतालमा पौडी खेलिसकेका हुन् । तालको ३ नम्बरतर्फबाट पौडिएर ५ नम्बर वडासम्म पुग्न सक्थे उनीहरु । यो दूरी अन्दाजी ४ देखि देखि ५ सय मिटर मानिन्छ । ‘त्यो दिन के भयो भयो,’ सँगै पौडी खेल्न गएका र कमलको उद्धारमा अनिललाई सघाएका शशी पुनले भने, ‘अहिलेसम्म म राम्ररी सोच्न, बोल्न सकिरहेको छैन ।’ अनिल र लोकबहादुर फरक–फरक कारणले डुबेको हुनसक्ने बुझाई उनको छ ।

कमललाई उद्दार गर्ने बेलादेखि पौडी खेलिरहेको हुनाले हातखुट्टा गलेर, थाकेर अनिलले असजिलो मानेको हुनसक्ने उनको अनुमान छ । अनिल डुबेको देखेर आत्तिएर खोलाबाट तालमा हाम्फालेका लोकबहादुर आत्तिएकै कारण समस्यामा परेको हुनसक्ने उनी बताउँछन् । आत्तिएर पानीमा हाम्फाल्दा पानी खाने संभावना हुने र त्यसो हुँदा पौडीखेल्न जान्ने मान्छे पनि डुब्नसक्ने उनी बताउँछन् ।

‘म कमललाई उद्दार गरेर बाहिर निस्कनै लाग्दा बाहिर रहेको एकजना अंकलले, दुवै डुबे भन्नुभयो, पछि फर्केर हेर्दा दुवैलाई देखिनँ,’ उनले भने । अनिल र शशी मिलेर कमलको उद्दार गरेका थिए । शशीले कमललाई ताल बाहिरसम्म पुर्‍याउँदै गर्दा अनिलले पनि आफू असजिलोमा परेकाले बचाउनका लागि लोकबहादुरलाई बोलाएका थिए । त्यतिबेलासम्म लोकबहादुर माछा मारिरहेका थिए । शशीका अनुसार खारखोला मिसिएको र पानी बगिरहेको ठाउँमा नै उनीहरु डुबेका हुन् । लोकबहादुर डुबेको डेढ घण्टामा उनको शव भेटिएको थियो ।

शोकमा गाउँ

‘अरुलाई बचाउने प्रयासमा यी दुई जनाले ज्यान दिए,’ बाल विकास आधारभूत विद्यालय वडगाउँका शिक्षक शुकराम देवकोटाले भने, ‘गाउँका आशलाग्दा युवाले अकालमै ज्यान गुमाए ।’ सहयोगी भावनाका दुवैजनाले आफू मरेर भए पनि अरुको ज्यान बचाएको शिक्षक देवकोटाले बताए ।

अनिल भलिबल राम्रा खेलाडी हुन् । अनिल र लोकबहादुर गाउँका हरेक सामाजिक काममा अघि लाग्थे । दुई युवाको मृत्युले गाउँ शोकमग्न छ । ‘गाउँ भावविहृवल छ,’ वडगाउँका चन्द्रबहादुर शाहीले भने । वडाअध्यक्ष कस्तुपप्रकाश दाहालले होनहार युवाको निधनले गाउँलाई नै ठूलो क्षति पुगेको बताए । ‘फरक–फरक दिनमा शव भेटिँदा झन् पीडा थपियो,’ उनले भने । कान्तिपुर दैनिकमा हरि गौतमले लेखेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083