मास्क कसरी फुकाल्ने कसरी लगाउने ?

9.46K
shares

के तपाईँ दैनिक मास्कको प्रयोग गर्नु हुन्छ? प्रयोग गर्नु हुन्छ भने कति लामो समयसम्म? कस्तो मास्क प्रयोग गर्नु हुन्छ? मास्क गलत तरिकाले प्रयोग गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस् है । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुप फैलिँदै गर्दा सरकारले सरर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गरिरहेको छ। पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेको छ।

सही तरिकाले मास्कको प्रयोग गर्दा थुकका छिटाहरूबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हुन सक्ने सङ्क्रमणको जोखिम कम हुने विज्ञहरुले बताएका छन्। विज्ञहरुका अनुसार घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले केही हदसम्म सहयोग पुर्‍याउने काम गर्छ।

तर मास्कको सही प्रयोग र सही छनोट सबै भन्दा महत्वपूर्ण हुने डा. निरज बमले बताए। उनले भने, ‘अहिले बजारमा थरिथरीका मास्कहरु पाइन्छन्। मास्कको प्रयोग गर्दा सबै भन्दा पहिला आफू कस्ता ठाउँमा जाँदै छु भन्ने कुरालाई ध्यानमा दिनु पर्छ। जाेखिमयुक्त ठाउँमा जाने व्यक्ति जस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले एन–९५, एन–९९ मास्क प्रयोग गर्नु पर्छ। भिडभाडमा जाने, दीर्घ रोगी, लक्षण देखिएका व्यक्तिहरुले यस्तो मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ। तर अन्य व्यक्तिल भने सर्जिकल मास्क प्रयोग गर्नु पर्दछ।’

मास्क प्रयोग गर्दा सकेसम्म फिल्टर नभएको मास्क प्रयोग गर्न उनले अनुरोध गरेका छन्। उनले भने, ‘फिल्टर नभएको एन–९५, एन–९९, केएन–९५ मास्क प्रयोग गर्नु पर्छ। फिल्टर भएको मास्क सुरक्षित छैन। विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार फिल्टर भएको मास्कले भाइरसलाई फिल्टर गर्न नसक्ने भएका कारण यस्तो मास्क प्रयोग नगर्न अनुरोध गरेको छ। त्यसैले सकेसम्म फिल्टर नभएको मास्क प्रयोग गरौँ। फिल्टर भएको मास्क प्रयोग गर्नु भन्दा बरु सर्जिकल मास्क नै प्रयोग गरौँ।’

पछिल्लो समय बजारमा पहिले केएन–९५ मास्क २४ घण्टासम्म मात्र प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन्। मास्ककाे बनावट अनुसार मास्कको व्यवस्थापन गर्नु पर्ने बताउँदै डा. बमले भने, ‘सर्जिकल मास्क भने ५ देखि ६ घण्टासम्म प्रयोग गर्नु पर्छ। एकपटक प्रयोग गरेको सर्जिकल मास्क अर्को पटक लगाउन मिल्दैन। लगाइसकेको मास्कलाई सही तरिकाले व्यवस्थापन गर्नु पर्दछ। भाइरस कति लामो समयसम्म बाच्न सक्छ, थाहा छैन। भन्न त विस्व स्वास्थ्य संगठनले ६ घण्टा भनेको छ। यो पनि पटक–पटक परिर्वतन भइरहन्छ।’

यस्तै नेपालमा एन–९५, केएन–९५, सर्जिकल मात्र नभएर कपडाको मास्क पनि प्रयोग गरेको पाइन्छ। विश्व स्वास्थ्य संगठनले कपडाको मास्क प्रयोग गर्नु भनेको छैन। कपडाको मास्कले थुकका छिट्टा रोक्न नसक्ने विज्ञहरु बताउँछन्।

तर नेपालमा भने कपडाकै मास्क भएपनि प्रयोग गर्न भनिएको छ। नेपालमा संक्रमण देखिँदै गर्दा जब बजारमा मास्कको अभाव भएको थियो। तब विभिन्न अस्पतालहरुले कपडाको मास्क समेत बनाएका थिए। तर अहिले बजारमा प्रशस्तै मात्रामा सर्जिकल मास्क पाउन थालिएको छ। जसले गर्दा सकेसम्म सर्जिकल मास्क नै प्रयोग गर्न विज्ञहरुले सबैलाई आग्रह गरेका छन्।

मास्कको प्रयोग गर्नु भन्दा अगाडिदेखि मास्क निकाल्दासम्म सही तरिका अपनाउनु पर्ने डा. बम बताउँछन्। मास्कको प्रयोग गर्दा सबैभन्दा पहिला राम्रोसँग साबुनपानीले हात धुनुपर्छ। धोएको हात सुकिसकेपछि प्याकेटबाट मास्क निकालेर मास्कको भित्रपट्टि नछोएरै दुईवटा डोरीको सहायताले लगाउनुपर्छ। सर्जिकल मास्क हो भने मास्कको दोबारिएको तहलाई तलतिर पारी दुई हातले डोरी समाएर कानमा अड्काउनु पर्छ।

मास्क लगाइसकेपछि नाकमा टम्म हुने गरी मिलाउनु पर्छ। मास्कले नाक र मुख छोप्नुका साथै चिउँडो पछि छोपिने गरि लगानु पर्छ। लगाइएका बेला मास्कलाई चिउँडो मुनि झुन्ड्याउने, धेरै पटक फुकाल्ने गर्नुहुँदैन। पसिना आएको, जथाभावी छोएको, मोबाइल चलाएको हातले घरीघरी हातले मास्क छुनुहुँदैन। यसो गर्दा संक्रमणको जोखिम अझ धेरै हुन सक्छ।

आवश्यकता पर्दा बरु मास्क निकाल्न सकिन्छ। मास्कको प्रयोग सकिएपछि वा घर फिर्ता भइसकेपछि मास्कलाई दुईतिरबाट डोरी समातेर झिक्नु पर्छ। झिक्ने बित्तिकै डस्टबिनमा फ्याँक्नु पर्छ। मास्कको प्रयोग सँगसँगै दुई मिटरको दूरी कायम गने, बेलाबेला साबुन पानीले हात धुने वा सेनेटाइजर प्रयोग गर्ने गर्नु पर्छ। यी तीन कुराको सही तरिकाले पालना गर्ने हो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनले भने, ‘धेरै जसो मानिसहरु जथाभावी रुपमा मास्कको प्रयोग गरेको पाइन्छ। मास्क मात्रै उचित तरिकाले प्रयोग गरेर मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ। साबुन पानीले हात धुने, मास्क लगाउने र दूरी कायम नगर्ने हो भने संक्रमणलाई नियन्त्रण गर्न सकिँदैन। त्यसैले हामीले भनेको मान्नुहोस्, कम्तीमा मास्क सही तरिकाले प्रयोग गरिदिनुस्।’ देशसंचारमा प्रकाशित छ !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083