देशभर रगत अभाव, रक्तदान गर्न रेडक्रसको आव्हान

9.92K
shares

काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रमामात्र होइन धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भइरहेकोे रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा लागू रहेको र आसपासका जिल्लाहरुबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको उनले जानकारी दिए ।

यद्यपि नेपालगञ्जमा भने तुलनात्मकरूपमा सहज देखिएको छ । रगतको माग भइरहेकाले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न सके रगत आपूर्ति सहज हुने रेडक्रसले जनाएको छ ।

नियमित रक्तदाता तथा युवाहरुले नजिकका केन्द्रहरुमा गई रक्तदान गर्नसक्ने र बिरामीको रक्तसमूहसँग मिल्ने साथीभाइ, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुने निर्देशक पौडेलले बताए ।

सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसअघि नै स्पष्ट पारिसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083