आत्मबलले कोरोनालाई जित्न सकिन्छ: स्वास्थ्यकर्मी
वि.सं.२०७७ भदौ २६ शुक्रवार १५:३५
shares

रत्ननगर, २६ भदौ: भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ छन् ।
बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।
“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भने,“त्सपछि आत्मबल बलियो बनाएँ ।
स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनेँ”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन ।
एक्काइस दिनको अस्पतालको बसाइँपछि उनी कोरोनामुक्त भए ।
अस्पतालबाट घर फर्किदा उहाँलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए ।
“दैनिकजसो मेडिटेसन गर्थेे, बेसारसहितको तातो पानी पिउथेँ”,उनले भने,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”
एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो ।
देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उनले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताए ।
जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी छन् ।
स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयाससमेत भएको थियो ।
घटनाको चौतर्फी आलोचना भयो ।
डा पौडेलको बसाइँ होस्टलमा भएकाले उनले नमिठो अनुभव बटुल्न परेन ।
आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उनलाई एकदमै नराम्रो लाग्यो ।
कोरोना सङ्क्रमण भएकै बेला उनल सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गरे ।
कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै छन् ।
“बिरामीको उपचारमा खटिएकी थिएँ”,उनले भने,“मलाई शुरुमा सुख्खा खोकी देखा प¥यो ।
विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरे । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”
कोरोना लाग्यो भनेर डराउन नहुने उनको भनाइ थियो ।
यसबाट छुट्कारा पाउन र अरुलाई पनि सङ्क्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताए ।
मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उनको तर्क छ ।
साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताए ।
कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले सङ्क्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उनले आग्रह गरे ।
घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो ।
उनी २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त भएका थिए ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भए ।
क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको सङ्क्रमण दर उच्च थियो ।
क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहन सकेनन ।
उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्दथ्ये ।
“तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै थिए ”, उनले भने,“छोरालाई स¥यो कि भन्ने ठूलो डर लाग्यो ।
अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।”
आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना सङ्क्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उनले बताए ।-रासस































