महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

16.04K
shares

टीकापुर । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाइन् । ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहा भन्छिन्, ‘‘ दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’

उनी मिहेनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउँछिन् । ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, नेहाले भनिन्, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, म सन्तुष्ट छु ।’’
भैँसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ की तारा सुनारले पनि मासिक १२ हजारसम्म आम्दानी लिइरहेकी छन् । ‘‘ दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ’’, सुनार भन्छिन्, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’’

बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । वडा नं. ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी १२ देखि १५ हजारसम्म हुन्छ । ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ’’, ओडले भनिन्, ‘‘ समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु ।’’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्त बैँकवाट भैँसी खरिदको लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भैँसीपालन गर्न सहज भएको हो । देउराली भञ्च्याङ कृषि सहकारीका प्रवन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताइन् ।
‘‘४२ हजार ब्याजमा ऋण दिन्छौँ । त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ’’, प्रवन्धक चौधरीले भनिन्, ‘‘भैँसी किनिसकेपछि गोठ निर्माणका लागि १८ हजार अनुदान दिन्छौँ ।

समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ ।’’ पहिले आम्दानी नभएर फुर्सदिला रहेका महिला भैँसीपालन गरेर मासिक १० देखि १५ हजारसम्म आम्दानी गरिरहेका चौधरीले बताइन् ।

टीकापुर नगरपालिकाले पनि यसरी व्यवसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम राखेको छ । किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बंङ्गुरका पाठा खरिद गरेर दिने पशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083