पर्साका चौरासीयालाई सहिद घोषणा गर्न र हत्यारालाई कारबाही गर्न अनेरास्ववियूको माग
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १५:५०
shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपाका पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँ कमिटीका सचिव मुकेश चौरासीयाको क्रुरतापुर्वक हत्या भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हत्यारालाई तत्काल कारबाही गर्न र चौरासीयालाई सहिद घोषण गर्न माग गर्दै प्रेस-विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ:-
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का पर्सा जिल्ला कमिटी सदस्य एवम् विन्दवासिनी गाउँ कमिटीका सचिव क.मुकेश चौरासीयाको क्रुरतापुर्वक हत्या गरिएको घटनाप्रति हाम्रो अत्यन्तै गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०७७ कार्तिक ६ गते गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अराजक र अवाञ्छित तत्वहरुले क.चौरासियामाथि गरेको निरसंश आक्रमणको भोलिपल्ट उहाँको दु:खद निधन भएको थियोे । यसप्रकारको अत्यन्तै पाशविक , वर्वर र क्रुरतम हत्याको घोर निन्दा र भर्त्सना गर्दै अपराधीलाई अविलम्ब कानुनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न जोडदार माग गर्दछौं ।
घटना घटेको एकसाता वितिसक्दा पनि स्थानीय प्रशासनले पिडित परिवारको किटानी जाहेरीसम्म दर्ता गर्न इन्कार गरिरहेको परिदृश्यले घटनालाई थप रहस्यमय वनाएको छ । यस्ता अपराधिक घटनाका दोषीलाई काहीँ कतैवाट कुनै प्रकारको राजनीतिक संरक्षण नगर्न सम्वन्धित सवैलाई चेतावनी दिन चाहन्छौं । यसर्थ पिडित परिवारको किटानी जाहेरी तत्काल दर्ता गर्न , आरोपितलाई गिरफ्तार गरी छानवीन प्रक्रिया तत्काल अघि वढाउन र जस्तोसुकै राजनीतिक खोल ओडेका अपराधी भएपनि अनुसन्धान प्रक्रियालाई निष्पक्ष र दवावरहित ढंगले अघि वढाउन जोडदार माग गर्दछौं ।
अन्त्यमा मृतक क. मुकेश चौरसियाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टी आन्दोलनमा पुर्याएको योगदानको उच्च सम्मान सहित उहाँलाई अविलम्ब सहिद घोषणा गर्न माग गर्दछौं । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
२०७७/०७/१३
रञ्जित तामाङ
सहसंयोजक , अनेरास्ववियू

































