सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग

8.41K
shares

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

महासङ्घले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न सबै पत्रकार अनुरोध गरेको छ । सङ्क्रमणको दर वृद्धिसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको भन्दै पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ भने चारजना पत्रकारको कोभिड–१९ का कारण निधन हुन गएको उनले जानकारी दिए ।

सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारलाई एकातिर कोभिड–१९ को कारण देखाई विभिन्न सञ्चारगृहबाट नियमित पारिश्रमिक नदिने, बेतलबी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्नेजस्ता क्रमसमेत बढिरहेको र अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारमा कोरोना सङ्क्रमण बढिरहेको उल्लेख गरेका छन् ।

“दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेसागत कर्म निर्वाहका क्रममा कोरोना सङ्क्रमित भई यतिखेर आफ्नै खर्चबाट पिसिआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ”, विज्ञप्तिमा भनिएको छ ।

मिति :२०७७।०७।१६
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ भने ४ जना पत्रकारको कोरोनाका कारण निधन हुन गएको छ ।
उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको छ । अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना संक्रमण बढिरहेको छ ।
दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ ।
यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ ।
साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गर्दछ ।
रमेश विष्ट
महासचिव