जनमोर्चाका नेता गाेपाल बराइली नेकपा एसमा प्रवेश
वि.सं.२०७८ पुस ५ सोमवार २२:४५
shares

राष्ट्रिय जनमोर्चाका नेता गोपाल बराइली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । लामो समयदेखि पत्रकारीता गर्दै आएका बराइली नेकपा (एस) का अध्यक्ष माधव नेपालको निवासमा गएर प्रवेश गरेका हुन् ।
सो अवसरमा अध्यक्ष नेपालले सबैको प्रयासबाट मात्रै नेपालमा परिवर्तन सम्भव हुने बताए । परिवर्तनशील युवा शक्तिहरु संगठित बन्नुपर्ने बताउँदै नेपालले अबको दिनमा एकीकृत समाजवादीमा युवाहरुको लर्काे लाग्ने बताए । सो अवसरमा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष गणेश विश्वकर्मा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरु, नेकपा एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई लगायतको उपस्थिती रहेको थियो ।
उनी राष्ट्रिय जनामोर्चा निकट जातीय समता समाज र प्रगतिशील पत्रकार संघमा आवद्ध थिए । उनी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य हुन् भने राष्ट्रिय दलित पत्रकार संघ नेपालका बरिष्ठ उपाध्यक्षसमेत हुन् ।
उनी २०५६ सालदेखि राष्ट्रिय जनमोर्चामा आवद्ध थिए । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दा बराइली दोस्रो शाही कालमा १ महिना ३ दिनसम्म जेलमा बसेका थिए ।
उनलाई शाही शाषणको विरोध गरेको अभियोगमा प्रहरीले पक्राउ गरी धनकुटा कारागारमा राखेको थियो । लामो समयदेखि नेपालको दलित आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।


















