अाखिर कसले समाहाल्ला चैत्र ११ पछि प्रहरीको नेतृत्व : यी हुन् दाबेदार एअाईजिहरू!

Nepal Life Insurance Long Ad
  1. काठमाडौ । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।

नयाँ आईजीपीको दौडमा प्रस्तावित पाँच एआईजी देखिएका छन् । एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्। एसपीमा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्। उनी कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन्।

कुँवरपछि क्रमशः डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ । नेपाल प्रहरीको आतंकवाद तथा अन्तरदेशीय अपराधहरुको अनुसन्धान गर्ने विशिष्टकृत इकाई विशेष ब्यूरो दुई दशकभन्दा बढी रहेर काम गरेका राईसँग आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान छ। लामो समय बिना बर्दी काम गरेका राईले एसपी हुँदा भने बाँके जिल्लाको इन्चार्ज भएर काम गरेका थिए। एसएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका छन्। केन्द्रीय प्रवक्ता भएर समेत काम गरेका उनी हाल लुम्बिनी प्रदेश प्रमुखको रुपमा कार्यरत छन्।

तेस्रो नम्बर बढुवा भएका थापा हाल बागमती प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, डीआईजी भएपछि प्रबन्ध महाशाखामा रहेर थापाले सेवा गरेका छन्।

३ चैत २०७९, शुक्रवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु