‘दोषी छन् भने जोसुकै भए पनि कारबाही गर्नुपर्छ’ : गृहमन्त्री श्रेष्ठ
वि.सं.२०८० वैशाख २० बुधवार १६:४८
shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन् ।
नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई लगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् ।
गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारवाही गर्न निर्देशन दिएको बताए ।
‘मैले प्रहरी प्रशासनलाई भनेको कुरा के हो भने कोही पनि दोषी कुनै पनि घटनामा नछुटोस्, कुनै पनि निर्दोष अनावश्यक तानिने वा दुःख पाउने नहोस्’, सञ्चारकर्मीहरुसँगको कुराकानीमा श्रेष्ठले भने, ‘तर, दोषी छन् भने जोसुकै भए पनि कारबाही गर्नुपर्छ ।’
जिल्ला अदालत काठमाडौंले यो प्रकरणमा बुधबार एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
यही प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईं प्रहरी हिरासतमा छन् । गृहमन्त्री श्रेष्ठले यो प्रकरणमा स्वच्छ अनुसन्धान हुने र कारवाही हुने बताएका थिए ।































