बादल पत्नी नैनाकला र अख्तियार प्रमुख राईमाथि पनि पक्राउ पुर्जी जारी गर्ने तयारी
वि.सं.२०८० वैशाख २१ बिहीवार ०९:१५
shares

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनाकला थापा र पूर्वगृहसचिव समेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई पनि पक्राउ पर्ने सम्भावना वढेको छ।
प्रकरणमा संलग्न भएकाहरुको पुष्टि हुने आधार भेटिएकाको अवस्थामा भने पक्राउ पुर्जी जारी भएको छ। जसमध्ये पूर्वमन्त्री टोपबहादुर रायामाझीका छोरा सन्दीप वुधवार वुटवलबाट पक्राउ परेका छन्। पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डेले आफैं प्रहरीमा आत्मसमर्पण गरेका छन्।
जसमध्ये गृहसचिव पाण्डे र इन्द्रजित राईले भुटानी शरणार्थी बनाएर पठाउन सम्पूर्ण प्रक्रिया मिलाएको र अन्यले भने शरणार्थी बनेर अमेरिका जाने मान्छे खोजेको खुलेको छ। नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका पठाउने प्रक्रिया चलिरहँदा त्यसमै नेपालीलाई पनि मिसाएर पठाउन उनीहरुले चलखेल गरेको आशंका गरिएको छ।
तर लाखौं रुपैयाँ बुझाएपछि पनि अमेरिका जान नपाएपछि पीडितहरु प्रहरी कार्यालयमा उजुरी दिन पुगेका थिए। उच्च तहका कर्मचारी र नेता जोडिएपछि प्रहरीले लामो समयदेखि यो मुद्दा अगाडि बढाएको थिएन। तर डेढ महिनाअघि सुरुमा तीन जनालाई पक्राउ गरेको थियो। सुरुमा केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए। पछि सागर राईलाई प्रहरीले पक्राउ गर्यो। उनीहरुको बयानका आधारमा थप विवरण खुलेपछि सन्देश शर्मा पक्राउ परेका थिए।
पूर्वमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी, इन्द्रजित राईका छोरा निरज र बादलका छोरा प्रतीकलाई पक्राउ गर्न पनि प्रहरीले अनुमति पाइसकेको छ। अन्य केही उच्च तहकै व्यक्ति पनि यो मुद्दामा थपिन सक्ने अनुसन्धान अधिकारी बताउँछन्।































