‘अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु’ भनेका टोपबहादुर सम्पर्क विहीन
वि.सं.२०८० वैशाख २२ शुक्रवार ११:४१
shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम भन्दै असुली गरेको गिरोहसँग साँठगाँठ देखिएपछि पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले प्रहरीको खोजी सूचीमा छन् ।
बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरे उनीसँगै थिए ।
राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । त्यहीबेला उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार भेटेर फर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भनेका छन्, ‘मैले कुरा गरेको थिएँ (टोपबहादुर रायमाझीसँग), पक्राउ पूर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक) सँग कुरा गरेको थिएँ, त्यस्तो होइन । तर, कुरा के हो स्पष्ट पारि दिनुपर्ला भन्नु भएको छ, म काठमाडौं आउँदैछु भन्नु भएको थियो।’
स्रोतका अनुसार महानिरीक्षक कुँवरसँग सम्पर्क गरेका उनले आफू विरुद्ध पक्राउ पूर्जी जारी भए/नभएकोबारे सोधेका थिए । जवाफमा कुँवरले ‘आफूलाई त्यसबारे थाहा नभएको बताउँदै सम्बन्धित प्रहरी परिसरका प्रमुख वा त्यहाँका अधिकृतसँग सम्पर्क राख्न’ भनेको स्रोत बताउँछ । आईजीपीसँगको कुराकानीमा रायमाझीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका थिए ।
अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर काठमाडौं आएनन् । बिहीबार उनको गाडी लिएर चालक मात्र आए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । उनीहरुको बयानका आधारमा रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरी बताउँछ । तर, रायमाझीले महानिरीक्षक कुँवरसँग आफूहरुसँग त्यस्तो कुनै चेक नआएको भन्दै फसाउन खोजिएको दाबी गरेका थिए । सानु भण्डारी गाउँले भएकाले चिनजान भएको बताउँदै अरु सिलसिलामा भेट भएको विषयलाई तोडमोड गरेर फसाइएको दाबी महानिरीक्षक कुँवर समक्ष उनले गरेका थिए ।
अर्का आरोपी केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको निजी सचिव थिए । ‘त्यतिबेला म पनि शान्ति प्रक्रियाको काममा संलग्न भएकाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँसँग पनि भेट भइराख्थ्यो’, रायमाझीले प्रहरी प्रमुखसँग दाबी गरेका छन्, ‘त्यही क्रममा चिनजान भएपछि सम्पर्क र भेटघाट हुन थालेको हो, मैले गलत उद्देश्यले केही गरेको छैन ।’ उनले अर्कै प्रसंगमा घुम्न गोसाइँकुण्ड गएको विषयलाई पनि जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
स्रोतका अनुसार रायमाझीले लामो स्पष्टीकरण दिन थालेपछि महानिरीक्षक कुँवरले प्रहरी समक्ष आएरै बताइ दिन भनेका थिए । ‘पक्राउ पूर्जी जारी भएकोबारे पनि मलाई थाहा छैन, भएकै हो भने पनि दोषी भन्ने होइन’, महानिरीक्षक कुँवरले जवाफ दिएका थिए, ‘पक्राउ पूर्जी जारी हुनु भनेको शंकाको पात्र हो, अनुसन्धानमा सहयोग गर्दा राम्रो होला ।’
त्यसपछि अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर काठमाडौं आएनन् । बिहीबार उनको गाडी लिएर चालक मात्र आए । चालकले रायमाझी भैरहवा तिरै बसेको बताएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भने रायमाझीको खोजी जारी राखिएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रायमाझीले नक्कली शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गर्ने गिरोहका सदस्यलाई गृह प्रशासनसँग सम्बन्ध बनाइ दिन र सहजीकरणका लागि सहयोग गरेको भेटिएको छ ।
‘यस वापत बाबु–छोराले नै आर्थिक लाभ लिएको हालसम्मको अनुसन्धानबाट देखिन्छ’, कार्यालयका एक अधिकृत भन्छन् ।
यो घटनामा हालसम्म पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन् ।
बादलका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज लगायत विरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।































