ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज

3.48K
shares

काठमाडौं।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो। कारबाहीपछि सांसद पद गुमाएका श्रेष्ठ सर्वोच्च पुगेका थिए।

रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित विन्दावासीनी कंसाकारलाई सांसद नियुक्त गर्न सिफारिस गरेको थियो। निर्वाचन आयोगले कंसाकारलाई सांसद मनोनयन गरिएको जानकारी गराए पनि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएको थियो। सर्वोच्चले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएपछि कंसाकारलाई शपथ गराउने बाटो खुलेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083