उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता
वि.सं.२०८० असार १३ बुधवार २१:४५
shares

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद्को सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दाेहाेराउदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकामा धन्यवाद दिनुभयो ।
राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ उपप्रधानमन्त्री फोङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताउनुभयो। कोरोना महामारीपश्चात द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उहाँले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्नका लागि आफूले पहल गर्ने विश्वास दिलाउनु भयो ।
उहाँले ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’मा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारका तर्फबाट सहभागिता जनाउनुभएकामा खुसी प्रकट गर्नुभएको थियो । सन् २०१९ मा चीनका राष्ट्रपति सि चिन फिनको नेपाल भ्रमणका क्रममा आफूले पनि काठमाडौँको भ्रमण गरेको स्मरण गर्दै उपप्रधानमन्त्री फोङले दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो । द्विपक्षीय भ्रमणका आदानप्रदानबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको उहाँको भनाइ छ ।
भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, छेन्दुस्थित नेपाली महावाणिज्य दूत दिनेशकुमार घिमिरे र उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
चीनका तर्फबाट उपप्रधानमन्त्री फोङ, सिचुवान प्रान्तको पार्टी सेक्रेटरी वाङ स्यायो हुई, उपमन्त्री, बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को उच्च अधिकारी लगायतको सहभागिता रहेको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ आजै सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेृतत्व गर्दै छेन्दु आइपुग्नु भएको हो । उहाँलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ्ग र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गर्नुभएको थियो ।
सिचुवान प्रान्त सरकारले उपप्रधानमन्त्री श्रेष्ठलाई उच्च सम्मान दिएको थियो । उहाँले बिहीबार ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’को उद्घाटन सत्रलाई मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।
सिचुवान एयरलाइन्सका पदाधिकारी तथा सिचुवान इन्भेष्टमेन्ट समूहसँग छलफल गर्ने कार्यक्रम छ । उहाँले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनुहुनेछ । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्ने कार्यक्रम छ ।































