योजना आयोगका श्रेष्ठ उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता
वि.सं.२०८० असार २६ मंगलवार १२:४५
shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको बेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताअनुसारका कार्यक्रमहरूमध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारकोतर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको थियो । नेपालले १६ औं योजना तर्जुमा गर्दैछ । त्यसका लागि आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव साटासाट गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।
उपाध्यक्ष डा. श्रेष्ठले एनडिआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् । पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रूपमा रहेको यस चिनिया संस्था हाल एनडिआरसीको रूपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ ।
भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्वन्धमा छलफल भएको थियो । पहिले समझदारी गरिएका आयोजनाहरूलाई छिटो अघि बढाउन दुवैतर्फबाट गर्नुपर्ने पूर्व तयारीका कार्यहरू बेलैमा सक्नेबारे पनि छलफल भएको थियो ।































