डेंगु नियन्त्रणका लागि महानगरले सुरु गर्‍यो अभियान

3.78K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ।

अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किने लगायतका काम भएको महानगरले जनाएको छ।

काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्‍गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोक लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको  बताइएको छ।

अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु पनि सहभागी रहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन महानगरले हटलाइन सेवा ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ।

महानगरका अनुसार अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। डेंगु रोगका बिरामीका लागि सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा उपलब्ध गराउने काम भइसकेको महानगरको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083