लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. लामा भन्छन् : ‘व्यक्तिगत लाभ लिने कुनै काम गर्दिन’
वि.सं.२०८० साउन २५ बिहीवार १८:५२
shares

बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् ।
लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् ।
पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताए । उनले व्यक्तिगत लाभ लिने काम नगर्ने दावी समेत गरे ।
ल्हारक्यालले आफू लामो समयदेखि बुद्धमार्गमा रहेर बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै लामाले उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए ।
स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन स्रोतबाट काम भइरहेको बताए।
यस अघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी) को कार्यकाल साउन ९ गते सकिएपछि सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो ।






























