कपिलवस्तुको एतिहासिक स्थानहरुको अवलोकन : उत्खनन् देखि लाखौंपर्यटक भित्राउनेसम्म डा.लामाको लक्ष्य

लुम्बिनी । माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले शुक्रबार कपिलवस्तुको एतिहासिक एवं प्राचीन धार्मिक पर्यटकिय भग्नावशेष स्थानहरुको अवलोकन एवं निरीक्षण गर्नु भएको छ ।
उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोट, कुदान, गोटीहवा, सगरहवा, जगदिसपुर, निलिहवा, अरुयरकोट, सिसनिया लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गर्नु भएको हो।
उक्त स्थानको निरीक्षण पश्चात् उपाध्यक्ष डा.लामाले लुम्बिनी र आसपासका क्षेत्रहरु लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्यटकहरु भित्राउन सुरु गर्ने बताएका छन् ।
अशोकस्तम्भ मायादेवि मन्दिर, विहारखण्ड सकुर्लर लेभी, शान्तिदिप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआई पर्यटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने समेत जानकारी अवलोकनको क्रममा दिनुभएको हो ।
शुक्रबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण समेत गरिसके छन् ।
तस्वीरमा हेर्नुहोस्
८ भदौ २०८०, शुक्रवार १६:१० बजे प्रकाशित