११ किलो सुन प्रकरण : काठमाडौँबाट थप १ जना पक्राउ

4.59K
shares

काठमाडौँ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। अहिलेसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् ।

असोज ११ मा पहिलोपटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको छ । तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपालतर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले  बताए । डिएसपी खड्का भन्छन्– ‘खोलावारी ल्याएपछि उनीहरुले आलुको बोरामा लुकाएर लामाबगरतर्फ ल्याएको भेटिएको छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083