‘सामन्तीलाई जनताले अधिकार पाएको कुरा पचेको छैन’ : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० मंसिर १ शुक्रवार १५:१०
shares

तनहुँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकताबद्ध भएर परास्त गरिने बताएका छन् ।
शुक्रवार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्। केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्। बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ। देशको सुरक्षा अवस्था सामान्य छ। १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं,’ प्रधानमन्त्री दाहालले भने ।





























