‘तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा’ : मन्त्री किराती

4.38K
shares

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर छिटोभन्दा छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

‘तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले प्रमाणित भएकाले नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना बनाएर विश्व सम्पदा सूचीमा  सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ मन्त्री किरातीले भने, ‘ठ्याक्कै कहिलेसम्म सचिकृत हुन्छ भन्ने यकिन नभएपनि सूचीकृत गर्ने प्रकृया सुरु भयो ।’

तिलौराकोट दरबार क्षेत्र गौतम बुद्धले २९ वर्ष बिताएको स्थान हो । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारकयाल लामाले बताए ।