आईजीपी बसन्त बहादुर कुँवर अपराधीहरु विरुद्ध अन्तत : आक्रमक भएर उत्रिए !

Nepal Life Insurance Long Ad
काठमाडौं । २३ फागुनमा दोस्रोपटक रवि लामिछानेले गृह मन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाए । त्यसअघि लामिछाने ११ पुस २०७९ मा पहिलोपटक गृहमन्त्री बनेका थिए ।
दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी पाएको छोटो समयमै लामिछानेले निडर भएर अडान लिइदिँदा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर अपराधीहरुविरुद्ध आक्रमक भएर उत्रिएका छन् ।
गृहमन्त्री भएको दुई सातामै लामिछानेको दृढ अडानका कारण आईजीपी कुँवरले छुट्टै विशेष प्रहरी टोली परिचालन गरेर अपराधीहरु पक्राउ गर्न खोजेका छन् । जुनकुरामा गृहमन्त्री लामिछानेको पूर्ण सहयोग रहेको स्रोत बताउँछ ।
पछिल्लो समय चर्चामा छ तस्करीको सुन प्रकरण । सुन प्रकरणमा उच्च पदस्थ व्यक्तिहरुको संलग्नता रहेको खुलेपछि गृहमन्त्री लामिछाने उनीहरुलाई जसरी पनि कानुनी दायरमा ल्याउनुपर्ने पक्षमा छन् ।
जसकरण बिहीबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझेर गृहमन्त्री लामिछानेले अध्ययन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाए ।
प्रतिवेदनमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको मिलेमतोमा अपराधीलाई जोगाएको खुलेपछि गृहमन्त्री लामिछानेले जो जो संलग्न देखिएका छन् तिनीहरुलाई पक्राउ गर्ने कुरा प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले समेत ग्रिन सिग्नल दिएपछि गृहमन्त्री लामिछानेले तत्काल आईजीपी कुँवरलाई बोलाएर प्रतिवेदनअनुसार संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न निर्देशन दिए । जहाँ उनीहरुबीच छुट्टै विशेष प्रहरी टोली खटाउने सहमति भएको थियो ।
जसअनुसार सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन २४ घण्टा नबित्दै पक्राउ परेका छन् । पुनलाई पक्रन आईजीपी कुँवरले प्रहरी प्रधान कार्यालयबाट टोली परिचालन गरेका थिए ।
शुक्रबार साँझ आईजीपी कुँवरको निर्देशनपछि विशेष टोलीले दिपेशलाई पक्राउ गर्न सफल भएको हो । देशमा सत्ता समीकरणबारे चलखेल भइरहेको समयमा पनि गृहमन्त्री लामिछानेको दृढ अठोटका कारण दिपेश पक्राउ परेको लामिछानेको सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणमा नाम जोडिएका जतिपनि व्यक्तिहरु छन् तिनीहरुसमेत कानुनी दायरामा छिट्टै आउने आईजी सचिवालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।
यता, प्रहरी संगठनलाई हस्तक्षेप गर्न हुँदैन भनेर भाषण गर्दै आइरहने गृहमन्त्री लामिछानेले आईजीपी कुँवरलाई बलियो बनाउन खोजिरहेका छन् ।

२ चैत २०८०, शुक्रवार २१:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु