सर्लाही प्रहरीद्वारा  स्रोत नखुलेको २७ लाखसहित हुण्डी कारोबार गर्ने  दुई जनालाई पक्राउ

Nepal Life Insurance Long Ad
काठमाडौं । सर्लाहीबाट प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
सोमबार गोप्य सूचनाका आधारमा सर्लाहीबाट खटिएको प्रहरीले २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए ।
पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घर भई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् ।
एसपी ज्ञावालीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा ९ लाख ९० हजार रुपैयाँ जम्मा गर्ने दुईवटा भौचरसहित उनलाई पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा १ हजार दरका १ हजार चार सय ५४ थान, ५ सय दरका ६ सय २२ थान, १ सय दरका एक सय ९ थान, ५० रुपैयाँको एक थान र २० रुपैयाँको एक थान नेपाली नोट बरामद गरेको हो ।
पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरूले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको र दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

१९ चैत २०८०, सोमवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु