नेपाल प्रहरीमा तीन डिआईजी पद रिक्त, बढुवाको तयारीमा आईजीपी !

Nepal Life Insurance Long Ad

काठमाडौं । ५ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी, ७ वैशाख अर्थात आजदेखि अर्का एआईजी मिरा चौधरी र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विकासराज खनाल अनिवार्य अवकाशमा गएका छन् ।

उनीहरुको अवकाशसँगै नेपाल प्रहरीमा ३ वटा डिआईजीको पद खाली छ । भण्डारी र चौधरीको ठाउँमा भने सरकारले डिआईजीद्धय उमेशराज जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरिसकेको छ ।
उनीहरुलाई दर्ज्यानी चिन्ह सम्भवतः ९ गते प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । लगत्तै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवर डिआईजी बढुवा गर्ने पक्षमा छन् । जसकारण आईजीपी कुँवर डिआईजी बढुवाको तयारीमा जुटेका हुन् ।
बढुवामा योग्यता पुगेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई डिआईजीमा बढुवा सिफारिस गरिने आईजीपी कुँवरले बताए । रिक्त तीनवटा डिआईजी पदको लागि दुई टोली प्रतिस्पर्धामा छ ।
काँधमा डिआईजीको फुली लाउन पाउने आकाङ्क्षामा सिनियर ब्याचका चारजना एसएसपी रहेका छन् । आईजीपी कुँवरका ब्याचमेट कृष्णहरि शर्मा पोखरेल, ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द डिआईजी बन्ने प्रतिस्पर्धामा छन् ।
तर, यो टोलीबाट एकजनाले मात्र डिआईजी बन्ने अवसर पाउनसक्ने अनुमान गरिएको छ ।
यस्तै पछिल्लो ब्याच ०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन् । पछिल्लो ब्याचबाट सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, दानबहादुर कार्की, ओम रानालगायतका अधिकृत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।
जसमा शाह, राठौर, राना राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका हुन् । शाह पहिलो नम्बरमा राठौर दोस्रो नम्बरमा रहेका छन् । त्यसपछि कार्की र केसी छन् ।
आईजीपीका ब्याचीहरु कोही पनि डिआईजी नभएको अवस्थामा शाह, राठौर र रानामध्ये एकजनालाई मात्र बढुवा गर्ने पक्षमा आईजीपी कुँवर रहेका छन् । विवादरहित एसएसपीलाई डिआईजीबनाउने गरी तयारी भइरहेको आईजी कुँवर बताउँछन् ।
यता, एसएसपीद्धय कार्की र केसीलाई भने आईजीपी कुँवर जसरी पनि डिआईजी बनाउनुपर्ने पक्षमा छन् । आईजीपी कुँवरको नजरमा उनीहरु राम्रो कमाण्ड गर्ने क्षमताका अधिकृत हुन् ।
गृह स्रोतका अनुसार डिआईजी बन्नेमा कार्की र केसीको कन्फर्म जस्तै छ । उनीहरुसँगै आईजीपी कुँवरले राअविबाट आएका एक जनालाई समेत समेट्न खोजेका छन् । जसकारण एसएसपी राठौरको सम्भावना बढि रहेको गृह स्रोतको दाबी छ ।
यो ब्याचबाट २०८२ सालपछि प्रहरी नेतृत्वमा पुग्नेछन् ।

७ वैशाख २०८१, शुक्रवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु