प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” काे प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:४५
shares

काठमाडौ । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” काे प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”, को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आईतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्न भएको हाे। समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनको क्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको कुरा उल्लेख गर्दै यस्तो गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरू प्रत्येक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुनेगरी सेवा प्रदान गर्न सफलता हासिल गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी जस्तो गतिशील संगठनमा तालिमको महत्वबारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जानकार रहेको उल्लेख गर्दै प्रमुख अतिथिले बढ्डो चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरेमा त्यसमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहने कुरा उल्लेख गर्नुभयो ।
पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा सर्वप्रथम र कवाजमा प्रथम हुने पवन कुमार परियार, सर्वद्वितीय र प्रहरी युक्ति तथा कारवाहीमा प्रथम हुने सगुन खड्का, सर्वतृतीय र अध्ययनमा प्रथम हुने आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम र शारीरिक व्यायाममा प्रथम हुने गोकुल कुमार धानुक रहेका छन् ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज दीक्षित हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधनको क्रममा अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो । चुनौतीको सामना गर्नका लागि १७ महिना लामो तालिमले सक्षमता प्रदान गरकोले उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो ।
मन्तव्यको क्रममा उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो ।
समारोहमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै गत २०७९ मंसिर २५ गतेबाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहमा १३१ जना पुरूष र १८ जना महिला गरी जम्मा १४९ जना प्रहरी निरीक्षकहरू आधारभूत तालिममा सफल भई दीक्षित भएको जानकारी समेत गराउनु भएको थियो ।
प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिावकहरुद्वारा दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो ।
उक्त दीक्षान्त समारोहमा माननीय उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, पूर्व कानून मन्त्री पूर्व प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, महारथी प्रधान सेनापति प्रभु राम शर्मा, गृह सचिव एक नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुत राज थापाकाे उपस्थिति रहेको थियाे ।
साथै केन्द्रिय प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, स्वार्गिय कुलानन्द स्मृती अक्षय कोषका अध्यक्ष तथा राष्ट्र बैकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपाल, सेवा निवृत्त प्रहरी महानिरीक्षकहरु, सहकर्मी प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, PGDPS कार्यक्रमका सल्लाहकार राजीव बिक्रम राणा, प्रतिष्ठान नारी विकास समितिका अध्यक्ष श्रीमती कल्पना गिरी, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका वरिष्ठ अधिकृतहरु, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान दिनुहुने आमन्त्रित विशिष्ट महानुभावहरु, आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूका आदरणीय अभिभावकहरु, सञ्चारकर्मी महानुभावहरू, प्रशिक्षक वर्ग तथा सकल दर्जाका प्रहरी कर्मचारीहरू एवं अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।























