प्यूठानमा आगलागी पिडित २२ परिवार, ५५ बालबालिकालाई राहत

6.96K
shares

प्यूठान ।  जिल्लामा आगलागी पिडित २२ परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । प्यूठान नगरपालिकाको १० परिवार र माण्डवी गाउँपालिकाको १२ परिवारलाई राहत सामाग्री प्रदान गरिएको हो ।

टेवा संस्था ललितपुरको आर्थिक सहयोगमा पूर्ण रुपमा घर जलेका परिवारलाई राहत प्रदान गरिएको महिला सहयोग मञ्च प्यूठानका अध्यक्ष पार्वता आचार्यले बताउनु भयो । माण्डवी गाउँपालिकाको २, ४ र ५ नम्वर वडा तथा प्यूठान नगरपालिकाको ३, ६ र ७ नम्वर वडाका अग्नी पिडितलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

५० केजी चामल, ३ केजी दाल, ५ लिटर तेल, ५ केजी नुन, ५ केजी चिउरा, त्रिपाल सिरक, डसना र झुल वितरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । त्यसैगरी बालबालिकालाई स्टेशनरी र झोल वितरण गरिएको छ । त्रिपाल नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश मार्फत वितरण गरिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाको पहलमा राहत वितरणको लागि टेवा संस्थासँग समन्वय भएको आचार्यले बताउनुभयो । राहत वितरण कार्यक्रममा प्यूठान नगरपालिकाका उप–प्रमुख देवेन्द्र वर्मा, माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, नगर प्रवक्ता सुमन श्रेष्ठ, प्रहरी नायव उपरीक्षक इश्वर थापा, सम्वन्धित वडाका वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।