बजेट ‘मिसन मोड’मा काम गर्ने गरी आएको छ : डा. वाग्ले

2.73K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आवको बजेट ‘मिसन मोड’मा काम गर्ने गरी क्षेत्रहरुको प्राथमिकीकरण गरेर ल्याएको बताएका छन्।

मंगलवार प्रतिनिधिसभामा आगामी आव ०८१/८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन्। उपसभापति डा. वाग्लेले बजेटमा ५ उद्देश्य, प्राथमिकता, रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु ‘मिसन मोड’ भएको दावी गरे।

उनले सरकारले ५ भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिन पहिचान गरेर त्यसमा ‘मिसन मोड’मा काम गर्नु जरुरी रहेको बताए।

उनले आईटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा सफ्टवयेर निर्यात ३० अर्ब बराबरको पुर्‍याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताए। उनले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताए।

​उनले एक सय वर्षको इतिहासमा ऊर्जामा करिब ३ हजार मेगावाटको हाराहारीमा जडित क्षमता आइपुगेको भन्दै आगामी वर्षसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएकाले जलविद्युतलाई पनि सरकारले ‘मिसन मोड’मा नै लैजानुपर्ने बताए।

‘यसपालि अर्थमन्त्रीज्युले जानेर नजानेर मिसन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरुको प्राथमिकीकरण गर्नुभएको छ। ५/६ वटा ग्रोथ ड्राइभ गर्ने इन्जिन पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ‚’ उनले भने‚ ‘डिजिटललाइजेशन पहिलो छ। १० वर्षमा ३० अर्ब पुर्‍याउने मिसन स्पष्ट छ‚ टाइम लिमिट पनि छ। १५ लाख रोजगारी दिने लक्ष्य पनि छ।’

उनले सरकारले यसमा थप आईटी पार्क, स्वदेशी सफ्टवेयर प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुरा सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आईटी बोर्ड बनाउने र विदेशमा पनि आईटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सब्सिडेयरी खोल्नै दिने खालका कार्यक्रम ल्याए लक्ष्य पूरा हुने बताए।

‘आईटी पार्क, स्वदेशी सफ्टवेयर प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक छन्। आईटी बोर्ड बनाउने र विदेशमा पनि आईटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सब्सिडेयरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर सरकार गयो भने लक्ष्य पहुँच भन्दा बाहिर छैन‚’ उनले भने‚ ‘ऊर्जामा करिब ३ हजार मेगावाटको हाराहारीमा जडित क्षमतामा आइपुगेका छौँ। अर्को सालसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको छ।’

उनले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउको गन्नेभन्दा पनि दैनिक खर्च र पर्यटकको औसत बसाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गरे।