४८ दिनदेखि रिक्त डीआईजीमा बढुवाको सुरसार छैन, एआईजीमा दरबन्दी खाली नहुँदै सिफारिस

3.15K
shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालमा ४८ दिनदेखि रिक्त प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा प्रक्रिया अलपत्र छाडेको छ ।

जनपथतर्फ भने पद रिक्त नहुँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी सुशील पन्तका नातेदारलाई बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका सचिवस्तरीय निर्णयबाट सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका हुन् । पोखरेल वरिष्ठ अधिवक्ता पन्तसँगै पूर्वएआईजी दिवेश लोहनीका समेत नातेदार हुन् । लोहनी उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग निकट छन् ।

जनपथतर्फ १९ असारबाट एआईजी उमेशराज जोशी अवकाशमा गएपछि एआईजीको दरबन्दी खाली हुँदैछ । तर, त्यस अगावै पन्त र पूर्वएआईजी दिवेश लोहनीको जोडबलमा गृह मन्त्रालयले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेका हुन् ।

यद्यपि, यसरी बढुवा सिफारिस भएका पोखरेलले पनि २१ असारबाट ५६ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् । अर्थात्, हतार–हतार बढुवा भएपनि दुई दिन पछि नै पोखरेल अवकाशमा जानेछन् । एआईजीका रुपमा काम गर्न भने पाउने छैनन् ।

यस्तोमा उनलाई उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग निकटताकै आधारमा विशिष्ट श्रेणीको सुविधा दिलाउन बढुवा गर्न लागिएको भन्दै प्रहरीभित्र असन्तुष्टी समेत छ । अधिकृतहरुका अनुसार, जनपथतर्फ मन्त्रीसँग निकटताका आधारमा बढुवा भइ रहँदा नेपाल प्रहरी अस्पतालमा भने अवस्था ठिक विपरीत छ ।

अस्पतालबाट २६ वैशाखदेखि दुई डीआईजीको दरबन्दी रिक्त छ । तर, दाबेदार दीपक श्रेष्ठ र सुवास आचार्यलाई बढुवा गर्ने सुरसार नै छैन । २५ असारसम्म बढुवा नभए उनीहरु एसएसपीको ६ वर्षे कार्यकालका कारण अवकाशमा जानेछन् । श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् ।

‘डिजर्भिङ क्यान्डिडेट भएपनि शक्ति केन्द्रसामू पहुँच नहुँदा प्रहरी अस्पतालमा बढुवा अलपत्र भएको हो’, नेपाल प्रहरी एक अधिकृत भन्छन्, ‘जनपथतर्फ भने पहुँचकै कारण अवकाशको दुई दिन अघि डीआईजी पोखरेलले एआईजीको फूली लगाउँदै छन् ।’

विगतमा दरबन्दी खाली नभइ एकै पटक एसएसपी, डीआईजीमा बढुवा सिफारिस गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसो नगर्न प्रहरीलाई सचेत समेत गराएको थियो । सरकारले २०७९ जेठमा पनि वसन्तकुमार लामालाई दुई दिनका लागि एआईजी बनाएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083