दुई पार्टी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भन्न मिल्दैन : माओवादी

3.08K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक परिस्थितिको सामना गर्ने निर्णय गरेको छ । एमालेले समीकरण बदलेर कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको माओवादीले पछिल्लो परिस्थितिको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहान पार्टीका पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए ।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले विकसित राजनीतिक परिस्थितिको सामना गर्ने बताए । ‘भाग्ने, डराउने, तर्सिने कुरा होइन, हामी यसै पनि माओवादी हौं,’ पौडेलले भने, ‘हामी राजनीतिक रुपमा यसलाई फेस गर्छौं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप माओवादीको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि कांग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र कांग्रेसमात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ ।

‘एकातिर एउटा सहमति गर्ने, अर्कातिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔं भन्ने ?’ माओवादी केन्द्रका सचिव पौडेलले भने, ‘दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर मिल्छ र ? तुरुप चाहिँ एउटा फाल्ने, काम अर्को गर्ने जे भएको छ, यो षड्यन्त्र हो ।’

संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेले गरेको समझदारी व्यवस्था उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका माओवादी केन्द्रलाई छ । राजनीतिक स्थायित्व खोज्ने नाममा व्यवस्थामाथि नै प्रश्न उठाइएको आशंका गर्दै सचिव पौडेलले भने, ‘संविधान संशोधनका जुन कुरा आएका छन् पछिल्ला परिवर्तनका विषय कतै उल्टिने त होइनन् ? कतै ०४७ को संविधान कतै व्युँताइँदै त छैन ? भन्ने गम्भीर प्रश्न उठेको छ ।’

उनले वर्तमान संविधानका उपलब्धिको रक्षामा सहमत दलहरुसँग छलफल गरेर अघि बढ्ने पनि बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083