एआइजीहरुको सरुवा गर्ने तयारीमा सरकार !
भागवन्डामा एआइजीहरुको सरुवा हुँदै, शक्तिकेन्द्र धाउँदै प्रतिस्पर्धीहरु
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गर्ने तयारी थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एआइजीहरुको सरुवा गर्ने गरी तयारी थालिएको हो ।
गृहमन्त्रालय उच्च स्रोतका अनुसार नयाँ सरकारले सरुवा गर्ने तयारी गरेसँगै रोजेका ठाउँमा जानका लागि एआइजीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बताइएको छ ।
उच्च पदस्थ प्रहरी अफिसरको सरुवामा सत्तारुढ प्रमुख घटक दलहरु बीच भागवन्डा नै हुने गरेको छ । यो पटक पनि एआइजी सरुवामा भागवन्डा हुने पक्कापक्की जस्तै देखिएको छ ।
अहिले देशका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार छ । सरकारमा अन्य साना दल पनि सहभागी भएता पनि एआइजी सरुवामा भने कांग्रेस-एमालेको मात्रै हस्तक्षेप रहनेछ । किनकी, एमालेबाट प्रधानमन्त्री ओली छन् भने कांग्रेसबाट गृहमन्त्री रमेश लेखक छन् ।
अहिले कस्लाई कहाँ सरुवा गर्ने भनेर गृहमन्त्री र प्रहरी नेतृत्वले लिष्टिङ तयार पारिसकेका छन् । सम्भवतः केही दिनमै एआईजीको सरुवा सम्बन्धी प्रस्ताव फाइल गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा जान्छ’, गृहमन्त्रालयका एक अधिकृतले बताए ।
स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दिपक थापालाई सिआइबीमा पठाउने तयारी छ । तर, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरले थापालाई सरुवा गरेर प्रशासन विभाग लैजान चाहेका छन् । किनकि उनले डिआइजीमा समेत प्रशासन विभागमा रहेर काम गरिसकेको अनुभव छ ।
नेपाल प्रहरीमा व्यवसायिक र अव्बल अफिसरको परिचय बनाएका एआईजी थापा भावी आइजीका दावेदार पनि हुन् । दर्जन बढी प्रहरी युनिटको नेतृत्व सम्हालिसकेका थापा उपत्यका प्रहरी प्रमुख भएसँगै थुप्रै महत्वपूर्ण काम समेत भएको छ ।
यस्तै, प्रशासन विभागको नेतृत्व सम्हालिरहेका टेकप्रसाद राईलाई भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पठाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समेत सकारात्मक रहेको बुझिएको छ । प्रहरी नेतृत्व पनि राईलाई रानीपोखरी पठाउन लागि परेका छन् ।
यद्यपी, उपत्यका प्रहरी कार्यालयमा जानका लागि भने अन्य एआइजीहरु पनि दौडधुप गरिरहेको स्रोत बताउँछ । तर, एआइजी राईको नै काठमाडौ उपत्यका प्रहरी कार्यालयमा बढी सम्भावना रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सम्हालि रहेका सुदिप गिरी भने नेपाली काङ्ग्रेसलाई रिझाएर सिआइबी जान खोजी रहेका छन् तर प्रहरी नेतृत्व उनलाई त्यहाँबाट हटाउन चाहेका छैनन् । थापा सिआइबी गए भने अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङको भने प्रशासन विभागमा सरुवा हुने सम्भावना स्रोत बताउँछ ।
त्यसैगरी केन्द्रिय अनुसन्धान व्यूरोमा रहेका श्यामलाल ज्ञवालीलाई भने राष्ट्रिय सुरक्षा परिषदमा पठाउने तयारी छ । मानवस्रोत विभागका प्रमुख भिम प्रसाद ढकाल र कार्य विभागकी प्रमुख किरण बज्राचार्यलाई भने यथावत राख्न खोजिएको छ ।
यता भर्खरै एआइजीमा बढुवा सिफारिस भएका रामदत्त जोशीलाई भने खाली रहेको प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने तयारी भएको प्रधान कार्यालय स्रोतले बतायो । यद्यपी अहिलेसम्म प्रहरी नेतृत्वले तयार पारेको सुची आउट भने भइसकेको छैन ।
१५ साउन २०८१, मंगलवार १४:२९ बजे प्रकाशित