सुरक्षा अधिकृतले निष्ठावान भएर जिम्मेवारी पूर्वक काम गर्नुपर्छ : पुर्व एआईजी सन्दिप भण्डारी
‘सार्वभौमसत्ता बलियो बनाउन मुलुकको समृद्धि अपरिहार्य’
ललितपुर । भूराजनीति, राष्ट्रिय सुरक्षा र आर्थिक कूटनीति विषयको बिज्ञहरुले सार्वभौमसत्ता सबल हुनका लागि कुनै पनि मुलुकको समृद्धि अपरिहार्य रहेकामा जोड दिनु भएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘भू–राजनीति, राष्ट्रिय सुरक्षा र आर्थिक कूटनीति’ विषयकमा समूहगत छलफल कार्यक्रममा उहाँहरुले कुनै पनि मुलुक आधारभूत आवश्यकतामा आत्मनिर्भर हुन सके मात्र त्यसको नेतृत्व लघुताभासबाट मुक्त हुनसक्ने बताउनु भयो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं उत्तर पूर्व एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले कुनै एक मुलुकले अर्को मुलुकसँग गर्ने व्यवहारमा भू–राजनीतिले ठूलो प्रभाव पार्ने बताउनु भयो । साथै उहाँले नेपाल जस्तो भू–राजनीति भएको मुलुकले आफ्नो देश र जनताको हितका लागि सुझबुझ र बुद्धिमतापूर्ण रुपमा छिमेकी मुलुकसँग कूटनीतिक सञ्चालन गर्नुपर्ने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक सन्दिप भण्डारीले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले कुनै पनि सुरक्षा अधिकृतले निष्ठावान भएर जिम्मेवारीपूर्वक आफ्नो काम गरे कहिल्यै कसैसँग पनि शिर झुकाउनुपर्ने अवस्था नआउने बताउनु भयो ।
प्रतिष्ठानले नेपाल सरकारका राजपत्रांकित अधिकृत तृतिय श्रेणी वा सो सरहका अधिकृतहरुका लागि सञ्चालन गरिरहेको ‘प्रोफेसनल कोर्स अन मेनेजमेण्ट एण्ड डेभलपमेण्ट’ (पिसिएमडी) विषयक सेवाकालिन प्रशिक्षणका अधिकृतहरुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
PCMD-4 भेरी समूहका शाखा अधिकृत राजकुमारी खत्रीले कार्यक्रमका मध्यस्थतकर्ता गर्नु भएको उक्त कार्यक्रममा सहभागी अधिकृतहरुले नेपाल–भारत सम्बन्धका आयाम, विकासका लागि आर्थिक कूटनीतिको योगदान, मुलुकको आन्तरिक र बाह्य सुरक्षाका चुनौती तथा समाधानका उपाय, भू–राजनीति र विश्वमा महाशक्ति राष्ट्रको अवस्था र भविष्य लगायत विषयमा जिज्ञासा राख्नु भएको थियो ।
१५ भदौ २०८१, शनिवार १२:१२ बजे प्रकाशित