हवलदार हिरासतमा प्रकरण : एसपी नेतृत्वको छानबिन समिति गठन

2.87K
shares

काठमाडौँ । काठमाडौं प्रहरीले हिरासतमा राखेका सहायक हवल्दारको प्रकरण छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन समिति गठन गरेको हो।

सोही कार्यालयमा कार्यरत सहायक हवलदार गणेश खड्कामाथि छानबिन थालिएकोमा आज समिति गठन गरिएको जनाइएको छ।

मुद्दा शाखामा कार्यरत खड्काले क्रिप्टो कारोबारीलाई पक्राउ गरेर ५० लाख असुल गर्न अर्का एकजना व्यक्तिलाई सहयोग गरेको आशंका छ।

सोही आधारमा उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको र थप अनुसन्धानका लागि एसपी नवराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा ४ जना सदस्य छन्।

क्यानडाबाट काठमाडौँ आएका आशिष आचार्य क्रिप्टो कारोबारमा संलग्न भएको सूचना तेज तामाङले सहायक हवलदार खड्कालाई दिएका थिए। सो सूचनाको आधामा भदौ १४ मा आचार्य पक्राउ परे। क्यानडामा बसेर क्रिप्टो कारोबार गरेको तर, नेपालमा त्यसबारे उनले कारोबार नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएपछि प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको थियो। तर, उनलाई छुटाउने आश्वासन दिएर तेज तामाङले आशिषको दिदीसँग ५० लाख रकम असुलेको थाहा भएको छ। मुद्दा चलाउनुपर्ने आधार नदेखिएको सूचना गणेशले दिएपछि ‘छुटाउँछु’ भनेर तेजले रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरूको आशंका छ। तर, सहायक हवलदारले रकम लिएको पुष्टि भएको छैन।

आशिष र तेज साथी हुन्। उनीहरू क्यानडामा सँगै बस्दै आएका छन्। भदौ १६ मा रिहा गर्नुअघि मुद्दा शाखाका एकजना अधिकृतले ‘आशिषलाई मुद्दा चलाउनुपर्ने अवस्था देखिएन’ भनेपछि उनकी दिदीले शंका लागेर रकम बुझाएको बताइन्। त्यसपछि घटना बाहिरियो।

अहिले आशिष र तेज दुवैजना क्यानडा उडिसकेका छन्। सहायक हवलदार खड्का भने छानबिनमा तानिएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083