जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा २६ लाख भन्दा बढी मूल्यको सामान बरामद

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलवार लाखौँ मूल्य बराबरको बिल नभएको समान बरामद गरेको छ । बरामद गरेको सामान बारे बुधबार सार्वजनिक गर्दै २६ लाख भन्दा बढी मूल्यको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार मङ्गलवार राती ८ बजे गोलन्जोर गाउँपालिका ७ खुर्कोट चेकपोष्टमा र कमलामाई नगरपालिका ६ माझिटार चेकपोष्टबाट ट्रक र बस नियन्त्रणमा लिएको हो ।
सिन्धुलीबाट रामेछाप तर्फ जाँदै गरेको ना.७ ख. ७३५७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा विल नभएको अन्दाजी २४ लाख ९ हजार ५६० रुपैंया बराबरको सामान बरामद भएको जानकारी दिनुभयो ।
ना ७ ख ७३५७ नम्बरको ६ चक्के ट्रक २० लाख, महालक्ष्मी उद्योग लेखिएको चिनी १ लाख ३३ हजार मूल्यको ३८ बोरा, ७३ हजार मूल्यको राजहंस लेखिएको चिनी २१ बोरा, Sulphurless white crystal sugar ३ हजार ५०० को चिनी १ बोरा बरामद गरिएको जानकारी दिनुभयो ।
यस्तै विवेक भुजा ४९ हजारको १०० बोरा, ८४ हजार ४२० मूल्यको विवेक भुजा (मुराई) पहेँलो रङको १३४ बोरा, ६६ हजार ६४० मुल्यको विवेक भुजा मिल सेतो रङको ११९ बोरा गरी १४ लाख ९ हजार ५६० रुपौंको सामान बरामद गरिएको जानकारी दिनुभयो ।
यस्तै मङ्गलवार दिउँसो सिन्धुली कमलामाई नगरपालिका ६ माझिटार चेकपोष्ट स्थित बिपी राजमार्गमा खटिएको प्रहरी टोलीले लहानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४.ख ५८०६ नं.बसलाई रोकी चेकजाँच गर्ने क्रममा २ लाख ४ हजार ९२० रुपैंया बराबरको सामान बरामद गरिएको जानकारी दिनुभयो ।
बसको छतमा बोरामा लुकाई छिपाई ल्याएको बिल नभएको सामानहरू अफजलमिन्ट टोवाको पान मसला ४० हजार ८००, अफजल लेमन मिन्ट टोवाको पान मसला २१ हजार २५० रुपैंया, अफजल आहस मिन्ट पान मसला २१ हजार २५० रुपैंया, अफजल डवलएप्पल टोवाको पान मसला ४० हजार ८०० रुपैंया, अफजल मिन्ट टोवाको पान मसला ८५ हजार रुपैंया, अफजल ब्लुबेरी मिन्ट पान मसला २१ हजार २५० रुपैंया गरि २ लाख चार हजार ९२० रुपैयाँ बराबरको सामान बरामद गरेको उहाँले जानकारी दिनुभयो । लुकाई छिपाई ल्याएको बिल नभएको सामानहरू बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वका वेला अवैध सामान ओसार प्रसार हुन सक्ने भन्दै प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको उहाँको भनाई छ । चाडपर्वका अवसरमा कुनै पनि अपराधका घटनाहरू हुन नपाउने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उहाँको भनाई छ । चाडपर्वमा हुने जुवातास, विभिन्न अवाञ्छित गतिविधि, कालोबजारी, तस्करी, लागु औषध र विस्फोटक पदार्थको प्रयोग र ओसारपसार पूर्ण रूपमा नियन्त्रण योजना बनाएर लागेको उहाँको भनाई छ ।
७ कात्तिक २०८१, बुधवार २३:४८ बजे प्रकाशित