प्रहरी कार्यालय उदयपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस ७ आइतवार १८:०१
shares

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा समुदाय प्रहरी साझेदारी अवधारणानुसार, लागू औषध दुर्व्यसन विरुद्द जनचेतना अभिवृद्दि गर्ने उद्देश्यले “लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका” विषयमा नगर स्तरीय कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हाे ।
जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीको अध्यक्षता, त्रियुगा नगरपालिका उप-प्रमुख महेश्वरी राईले प्रमुख आतिथ्यता, उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको विशेष आतिथ्यता, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, त्रियुगा नगरपालिका वडा नं. ११ र १२ का वडा अध्यक्षहरुको आतिथ्यता, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष एवं संचारकर्मीहरु, विभिन्न विद्यालयका शिक्षकहरु, सामाजिक अभियन्ता, विद्यार्थीहरु लगायत गरी १५० जनाको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा त्रियुगा नगरपालिका स्थित १३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा क्यान्भास सेकेण्डरी बोर्डिङ स्कुल कक्षा ९ मा अध्ययनरत् छात्रा जेनिशा कार्कीले प्रथम स्थान, राष्ट्रिय मा.वि. बगाहा कक्षा १० मा अध्ययनरत छात्रा नम्रता दाहालले द्वितीय स्थान र वालमन्दिर मा.वि. वोक्से कक्षा १० मा अध्ययनरत् मनिषा चौधरीले तृतीय स्थान हासिल गर्नु भएको छ । प्रमुख अतिथिज्यूद्वारा विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।




























