प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा जनचेतनामूलक नाटक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न
वि.सं.२०८१ माघ ११ शुक्रवार १७:४७
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा जनचेतनामूलक नाटक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ।
समुदाय – प्रहरी साझेदारी अभियान अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ०२ स्थित रेडियन्ट रिडर्स एकेडेमीमा नेपाल प्रहरी श्रीमती संघ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र, सानेपाको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा जनचेतनामूलक नाटक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको हाे।
अन्तर्राष्ट्रिय शिक्षा दिवशको अवसरमा आयोजित जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समुदाय-प्रहरी साझेदारीको अवधारणा बमोजिम समुदाय तथा विद्यालयमा आयोजना गर्ने कार्यक्रमहरु जन-जागरणको लागि सबै भन्दा उपलब्धीमूलक हुने हुँदा आफुले जनचेतनामूलक कार्यक्रममा प्राप्त गरेको ज्ञानलाई आफ्नो भविष्य निर्माणको निमित्त उपयोग गर्न उपस्थित विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो । साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी र नागरिकको एकबद्धता प्रधान हुने हुँदा समाजमा गलत प्रवृति भएको तथा हुने सम्भावना देखेमा त्यसको सूचना प्रहरीलाई दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न समेत अनुरोध समेत गर्नुभयो ।
नेपाल प्रहरी संगित विद्यालयबाट नाटक तथा साङ्गीतिक प्रस्तुती रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख श्याम कृष्ण अधिकारी, नेपाल प्रहरी श्रीमती संघकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ तथा अन्य पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र, सानेपाका पदाधिकारीहरु, स्थानिय जन प्रतिनिधिहरु, अन्य प्रहरी कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिकाहरु, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।


















