दिप्रुङ चुइचुमा गाउँपालिकाका अध्यक्ष र कर्मचारी कार्यालय बन्द गरेर एमाले महाधिवेशनमा
पालिकाको कार्यालय बन्द गरेर एमाले महाधिवेशनमा सहभागी भएको आरोप
वि.सं.२०८२ पुस १ मंगलवार १४:१६
shares

Oplus_131072
काठमाडौ । खोटाङ जिल्लाको दिप्रुङ चुइचुमा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईसहित गाउँपालिकाका कर्मचारीहरू नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागी हुनका लागि गत मङ्सिर २६ गते गाउँपालिकाको कार्यालयमा ताल्चा लगाएर उपस्थित भएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अध्यक्ष लोकेन्द्र राईको पोस्टअनुसार गाउँपालिका अध्यक्षसँगै विद्यालय निरीक्षक रणसेर तामाङ, रोजगार संयोजक मुकेश गेलाल, कृषि शाखा प्रमुख एल.बी. मगर तथा ‘हेल्लो डाक्टर’ कार्यक्रमका अहेब सुरेश प्रधान समेत महाधिवेशनमा सहभागी भएको देखिन्छ। कार्यदिवसमा कार्यालय बन्द गरी राजनीतिक कार्यक्रममा सहभागिता जनाइएको घटनाले स्थानीय सेवाग्राहीहरूमा असन्तोष बढाएको छ।

त्यसैगरी, सोही गाउँपालिका अन्तर्गत रहेको समाजसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापा महाधिवेशनमा सहभागी हुने क्रममा १.५ तोलाको सुनको सिक्री लुटिएको भन्दै सामाजिक सञ्जालमा भिडियोहरू भाइरल भएका छन्। घटनाबारे आधिकारिक पुष्टि भने भइनसकेको जनाइएको छ।
यसैबीच, स्थानीय तहमा सत्तारुढ दलको प्रभाव प्रयोग गर्दै कर्मचारी र शिक्षकहरूलाई विभिन्न समयमा दबाब, दुःख तथा पेल्ने व्यवहार गरिएको भन्ने गुनासोहरू पनि विभिन्न कर्मचारीहरूबाट सुनिन थालेका छन्। यस्ता घटनाले स्थानीय तहमा सुशासन, सेवाप्रवाह र राजनीतिक मर्यादा माथि गम्भीर प्रश्न खडा गरेको सरोकारवालाहरूको भनाइ छ।

















