सिमसारमा आश्रीत समूदायको जिवनमा संकट !
वि.सं.२०८२ पुस १ मंगलवार १४:२३
shares

कपिलवस्तु। कपिलवस्तु नगरपालिका वडा न–१०,बिर्ताका मनमोहन पाँसीे (४२) को जीविकोपार्जनका लागि जिल्लाको कपिलवस्तु मा रहेको जगदिशपुर तालमा निर्भर छ । २१५ हेक्टरमा फैलिएको ताल नै उनको ५ जनाको परिवारको आयश्रोत थियो । तालबाट दैनिक ५ केजी माछा निकाल्ने, उनले बजारमा त्यही माछा विक्रि गरेर घरखर्च चलाएका थिए।
ताल संरक्षणका नाममा माछा मार्ने कामलाई बन्द गरिएपछि अहिले उनी सहित तालमा माछा मारेर जीविकोपार्जन गर्नेहरुको रोजगारी नै प्रभावित भएको छ । पासी अहिले दैनिक ज्याला मजदूरीमा लागेका छन् ।
माछा मार्नु बाध्यता थियो त्यो बाहेक अरू कुनै सिप थिएन्, अहिले मजदुरी गर्छु । कहिले काम पाइन्छ कहिले पाइँदैन । हाम्रो समुदायको प्राय यता माछा मारेरै गुजारा चल्छ, माछा मार्न बन्द भयो अहिले धेरै विदेश गएका छन्, केही मजदुरी गर्छन्, ” उनले सुनाए ।
प्राकिृतक रुपमा पाइने सीमसार तथा तालहरु स्थानीयहरुको जीविकोपार्जनका मुख्य श्रोतहरु हुन् । रुपन्देही जिल्ला रोहिणी गाउँपालिका ६५ वर्षीय एक दुखी तुराहा ।घर छेउमा रहेको ६ कठ्ठा क्षेत्रफलमा पोखरी प्राकृतिक सिँगडा खेती गर्दै आएका छन् । तुराहाका अनुसार, उनको परिवारले विगत ५० वर्ष देखी सिँगडा खेती गर्दै आएको छ । प्रत्येक वर्षको असोजको अन्तिम साता देखी कार्तिक महिना उनी र उनको परिवारको लागी वर्षको सबै भन्दा हर्षको समय हुने गरेको छ । बताउँछन् । त्यो समयमा उनीहरूले १ महिनामै ८० हजार सम्म आम्दानी गर्ने गरेका छन् । तुराहा भन्छन्, पहिले पहिले पोखरी धेरै थियो पानी पनि पोखरीबाट सुक्दैनथ्यो अहिले त पानी नै पोखरीमा अडिन्न अनी पहिले धेरै सजिलो थियो, यहाँको माछा, घोँगी अनी सिंगडा खेती गरेर बस्न अहिले धेरै गाह्रो भइसकेको छ ।त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ र ७ मा फैलिएको २५ हेक्टर क्षेत्रफललाई ‘अजिङ्गरा ताल’ गर्मीमा खेतको धाजा फाटेको जस्तो हुनेगरेको छ । किनभने तालकै नाममा परिचित यो भूभागमा तालजस्तै देखिने कुनै जलराशि भेटिन्न। ताल भन्नासाथ आँखामा पानीले भरिएको जलाशय, जहाँ कमलका फूल, चराहरूको चिरबिरको कल्पना गर्ने जो कोहीलाई यहाँ पुग्दा ठुलो आश्चर्य लाग्छ— किनभने ताल भनिए पनि पानीको अस्तित्व झिनो मात्र छ, वा कतिपय मौसममा त बिल्कुलै देखिँदैन। असार–साउनमा खडेरी पर्यो भने तालको बीच भाग नै धाँजा फाटेर सुख्खा जमिनमा परिणत हुन्छ।
स्थानीय बासिन्दा विश्वनाथ यादव भन्छन्, “पहिलोपटक ताल हेर्न आउनेहरू पानी नभएकै कारण झुक्किन्छन्। ताल भनेपछि पानी हुनुपर्छ, तर यहाँ बर्खाको समय बाहेक पानी देखिँदैन।”
यो ताल एक समय जिल्लाकै प्रसिद्ध तालहरूमध्ये गनिन्थ्यो। हिउँद लाग्दा यहाँ विभिन्न प्रजातिका आगन्तुक चराहरूको बास हुन्थ्यो। तालभित्र जङ्गली धान फस्टाउँथ्यो, जसले जैविक विविधतालाई मलजल पुर्याउँथ्यो। तर आजको वास्तविकता भिन्न छ।
कपिलवस्तु सदरमुकाम तौलिहवादेखि २५ किलोमिटर दक्षिण–पश्चिममा अवस्थित यो क्षेत्र आफ्नो पहिचान गुमाउँदै छ। वार्ड नम्बर–७ का वडाअध्यक्ष राज किशोर यादव तालको पानी सिँचाइका रुपमा प्रयोग गरिएपछि तालको अस्तित्व नै सङ्कटमा परेको बताउँछन् । “पहिला आकासे पानीकै भरमा हिउँदे बाली हुन्थ्यो, तर अहिले हिउँदमा पानी पर्दैन,” उनी भन्छन्, “विकल्पका रूपमा स्थानीयले तालकै पानी सिँचाइका लागि प्रयोग गर्न थालेपछि तालको अस्तित्व नै सङ्कटमा परेको छ।”
उनका अनुसार, कृष्णनगर नगरपालिका–६ र ७ का झन्डै ५०० बढी घरधुरी र करिब ७ सय बिगाहा कृषियोग्य भूमि यही तालको पानीमा निर्भर रहेकोमा अहिले ठूलो संख्यामा यहाँका तालमा आश्रीत समूदाय संकटमा परेका छन् ।
डिभिजन वन कार्यालय कपिलवस्तुको गौतमबुद्ध सब–डिभिजन कार्यालयका अनुसार, ‘अजिङ्गरा ताल’ सरह नै कपिलवस्तु नगरपालिका, बिजयनगर क्षेत्रका प्रमुख तालहरू गम्भीर सङ्कटमा छन्। कपिलवस्तु नगरपालिका बिजयनगर–२, शारदा सामुदायिक वनमा पर्ने करिब २ हेक्टरमा फैलिएको शारदा ताल, बिजयनगर–१ मा रहेको ०.५ हेक्टरमा फैलिएको गोबरहवा ताल, बिजयनगर–४ मा रहेको करिब १७ हेक्टरमा फैलिएको शंकरापुर तालको अस्तित्व सङ्कटमा छ ।
सिमसार विज्ञ शैलेन्द्र पोखरेलका भन्छन्, सिमसार त्यस्तो क्षेत्र हो जहाँबाट जीवन सुरु हुन्छ । मान्छेको जीवनको संस्कृतिको विकास नै सिमसार बाट भएको उनको भनाई छ । पोखरेलका अनुसार सिमसारको संरक्षण आवश्यक रहेको छ, त्यस्लाई आर्थिक आयआर्जन सँग जोड्नु आजको आवश्यकता हो त्यो सँगै सिमसारमा आश्रित समुदायहरूको संरक्षण पनि गर्नु पर्छ तर त्यस्लाई दोहन गर्ने गरी होइन । विडम्बना त के छ भने,सिमसार संरक्षणको निश्चित जिम्मा कसको हो भन्ने कुरा अहिले सम्म टुङ्गो लाग्न सकेको छैन । सिमसार संरक्षणको लागि एउटा निश्चित संस्था गठन गर्नुपर्ने आवश्यकता रहेको छ । सिमसारको संरक्षण सँगै त्यस्लाई आर्थिक आयआर्जन सँग जोड्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने छ ।
तराईका जिल्लाहरूमा प्राकृतिक रूपमा रहेका तालहरू मानवीय अतिक्रमण, विकास निर्माण, र जलवायु परिवर्तनका कारण तीव्र रूपमा हराउँदै गएका छन्। राष्ट्रिय ताल विकास तथा संरक्षण समितिका अनुसार, सन् १९९२ देखि हालसम्म लुम्बिनी प्रदेशका तराई क्षेत्रका १,०४४ वटा ताल विलुप्त भइसकेका छन्। नेपालभरि सबैभन्दा बढी ताल मासिएको जिल्ला कपिलवस्तु रहेको छ, जहाँ ३२७ वटा तालहरू लोप भइसकेका छन्। यसरी एकातिर सिमसार मासिँदै तथा सरकार तथा विभिन्न संघ संस्थाहरु गठन गर्दा सिमसारमा आश्रीत समूदायलाई मुख्य प्राथमिक्ता दिनु पर्ने देखिएको छ। यस्ता समूदायलाई सिमसारको संरक्षणको जिम्मा सहित विभिन्न तालिम तथा प्रशिक्षण सहित सिमसार र मानव संरक्षण सहित आर्थिक विकासमा जोडि मात्र त्यस्ता समूदाय गरिबी बाट समेत उकासिन सक्ने देखिन्छन् ।















