गरिब विपन्नको साहारा: राजापानी सामुदायिक वन
वि.सं.२०८२ पुस ४ शुक्रवार १८:२०
shares

Oplus_131072
कपिलवस्तु। वाणगंगा नगरपालिका–३ कपिलवस्तु निवासी ४७ वर्षीय शंकरिया चौधरीको जिवनमा जिवनमै नसोंचेको अकल्पनिय बज्रपात पर्यो । तिन वर्ष अघि उनका श्रीमान् लालुचौधरीको मजदुरी गर्न छिमेकीको डेरमा गएको बेला रुखले च्यापेर उनको ढाँडको हड्डि बाचिँयो र अपांङ्ग भए त्यसपछि उनको घरमा उनलाई दोहोर जिम्मेवारी आइलाग्यो त्यपछि उनले नै घर र परिवार धान्नु पार्यो । शंकरीयालाई घर भित्रको जिम्मेवारी सँगै आर्थिक उपार्जन गर्नुपर्ने बाध्यता आइलाग्यो । त्यसपछि उनी ज्यालादारी गर्न थालीन् ।
घर छेउमा रहेको राजापानी सामुदायिक वनले गरीब, विपन्नलाई रोजगारी दिने भनेपछि उनी त्यस वनमा गइन् र फारम भरीन् । चौधरी भन्छिन्, ‘सुरुमा मैलै ज्यालादारीमा काम गरे अहिले वन भित्रै जागिर गर्छु मलाई दुखको बेलामा यो वन साच्चै भगवान जसरी नै भेटियो अहिले मेरो जीवनमा धेरै परिवर्तन आएको छ, मासिक पैसा आउँछ, दैलो अगाडि नै काम गर्ने थलो भएपछि अपांग श्रीमान्लाई हेर्न पनि साह्रै सहज भएको थियो २ महिना अघि उनको मृत्यु भयो सायद वनमा जागिर नभएको भए मैले श्रीमान्को यती समय सम्म स्याहार पनि गर्न पाउदिनथे होला,’ उनले भनीन् ।
त्यस्तै स्थानीय देवी कला घर्ती र उनका श्रीमान् जंगबहादुर घती सहित ६ सन्तानको जिविको पार्जनको मुख्य श्रोत नै राजापानी सामुदायिक वन भएको छ । अहिले देवी कलाले सरसफाईकर्मीको रुपमा काम गर्छिन् भने जंगबहादुर मालीको काम गर्छन् । उनी भन्छन्, ‘मजदुरी गर्दा ठेक्दारले समयमा ज्याला नदिने, दिनुपर्ने ज्यालाभन्दा पनि कम ज्याल दिने गर्थे, ५०० दिनुपर्ने ठाउँमा कहिले २५० दिन्थ्यो कहिले ३००, काम पुरा गरेपनि पैसा भने सधै आधा दिन्थ्यो ठेक्दार अहिले त्यस्तो हुदैन काम अनुसार सहजै पारिश्रमीक पाइन्छ, पहिलो हाम्रो घर झुप्रो थियो अहिले टिन लगाएर घर पनि बनाउँदै छौ’ ।
२०५८ सालमा दर्ता भइ औपचारिक रुपमा काम गर्दै आएको राजापानी सामुदायिक वन ४५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। जस्मध्य २७ हेक्टर क्षेत्रफल पर्यापर्यटनको लागि छुट्याइएको छ ।
सामुदायिक बनले वृक्षारोपण अभियान, पर्यटन विकास र सामुदायिक सहभागितामार्फत स्थानीय समुदायलाई रोजगारी दिलाउँदै आर्थिक अवसर सिर्जना गरेको छ। वाणगंगा नगरपालिकाका ४ वटा वडाहरु (३,४,१०,११) का जम्मा २४०० उपभोक्ता रहका छन् । जस्मध्य ४०० जना उपभोक्ताहरु सूचिकृत भएका छन् । राजापानी सामुदायिक वनका अध्यक्ष सिता देवी पौडेल अनुसार, जम्मा उपभोक्त मध्य पनि अति विपन्न, गरीब, पिछडा वर्ग, जनजातीलाई मध्य नजर गर्दै सबैको आयआर्जनमा सहयोग पुगोस् र स्थानीयलाई पनि वन प्रति अपनत्व होस् भने घुम्ती रुपमा प्रत्यक महिना १० दिन १० जना र त्यसपछि फेरी अर्को १० दिन अर्का १० जना सूचिकृत उपाभोक्तालाई यहाँको काममा लगाई पारिश्रमीक दिने गरीएको छ।भने वनले सुरु गरेको महत्वपूर्ण अभियानको रुपमा रहेको वृक्षारोपण अभियानले ८० जनालाई काम गर्दै आएको थियो । राजापानी सामुदायिक बनले सुरु गरेको २८ हजार बिरुवा रोप्ने महाअभियानमा टिक, सिसौ, राजवृक्ष, मोरिङ्गा, बाँस, जामुन, अर्जुन जस्ता बहुउपयोगी बिरुवा रोपिएका छन्। अभियानमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। बिरुवा रोप्ने, तारबार गर्ने, पानी हाल्ने र संरक्षण गर्ने काममा स्थानीय युवाहरू पनि संलग्नता रहेको छ ।
तीनै मध्यकी एक हुन् २२ वर्षीय रेनु थारु । विगतमा वनको जग्गाका केही भाग अतिक्रमण गरेको उनको परिवारलाई सामूदायिक वनका पदाधिकारीले यस्को महत्वको विषयमा परार्मश गरेपछि उनको परिवार समेत उक्त अतिक्रमीत जग्गा वन समितिलाई हस्तान्तरण गर्न तयार भएको थियो । थारु भन्छिन्, ‘राजापानी सामुदायिक वनकै कारणले गर्दा हामीलाई काठ, दाउरा चाहिएको समयमा सहजै उपलब्ध हुन्छ, हामीलाई पनि अहिले वन आफ्नै घर जस्तो लाग्न थालेको छ । यसले ग्रामीण क्षेत्रमा बेरोजगारी कम गर्ने मात्र होइन, विदेश पलायन रोक्ने प्रयास पनि गरेको छ’।
राजापानी सामुदायिक वनलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना अघि सारिसँगै यहाँका पूर्वाधार निर्माणका काममा समेत स्थानीयहरुलाई नै रोजगारी दिने प्रयास गरीएको अध्यक्ष सिता देवी पौडेलले बताइन् । उनका अनुसार, वन व्यवस्थित भएभने पर्यटक बढ्छन् यहाँ स्थानीयलाई भोलीका दिनमा गाइड, होटल, पसल, यातायात सेवा जस्ता क्षेत्रमा रोजगारीमा समेत पहुँच बढ्ने छ । वन भित्र काम गर्नको लागि निश्चित मापदण्ड रहेको छ । उपभोक्ता समूहको सदस्य भएको र सूचिकृत भएको र आर्थिक रुपमा विपन्नहरुलाई विशेष प्राथमिक्ता दिइएको छ । सामुदायिक बनले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ यो पनि यहाँको विकासमा खर्ची धेरै भन्दा धेरै स्थानीयलाई रोजगारी दिने लक्ष्य रहेको छ ।
महिलाको सक्रियता
महिलाहरू वृक्षारोपण, संरक्षण र पर्यटन व्यवस्थापनमा सक्रिय छन्। उनीहरूले सहकारी सञ्चालन, हस्तकला उत्पादन, स्थानीय खाद्य सामग्री बिक्री जस्ता काममा अवसर पाएका छन्। यसले महिलालाई आर्थिक आत्मनिर्भरतातर्फ अघि बढाएको छ। एकातिर सामूदायिक वनले स्थानीहरुलाई रोजगारी दिदै उनीहरुको जिवनमा परीवर्तन ल्याइरहेको छ भने अर्को तर्फ स्थानीयहरुमा वन हाम्रो हो यसको संरक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास हुनाले दिगो विकासको लक्ष्यको प्राप्ती समेत हुन सक्ने उदाहरण राजापानी सामुदायिक वन बनेको छ । यस्ले गर्दा चोरी निकासी कम हुने, वन फढानी कम हुनुको साथै वन अतिक्रमणको जोखीमलाई समेत कम गरीदिएको छ । दीर्घकालीन रोजगारी सुनिश्चित गर्न पर्यटन र संरक्षण कार्यलाई निरन्तरता दिनुपर्नेछ। राजापानीलाई पर्यटन गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सके रोजगारीको दायरा अझै बढ्नेछ। राजापानी सामुदायिक बनले कपिलवस्तुमा वृक्षारोपण अभियान, पर्यटन विकास र सामुदायिक सहभागितामार्फत स्थानीयलाई रोजगारी दिलाउँदै आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।















