डाक्टर उत्पादन गर्ने ‘फ्याक्टरी’ बनाउने लक्ष्य छ : डा. लेखजंग थापा

2.8K
shares

रुपन्देही ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार डा. लेखजंग थापाले निर्वाचनमा विजय हासिल गरेपछि विज्ञ चिकित्सक उत्पादन गर्ने दीर्घकालीन नीति निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. थापाले नेपालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै दक्ष र विशेषज्ञ चिकित्सक उत्पादन गर्ने संरचनागत व्यवस्था आवश्यक रहेको औंल्याए। “हामीले विदेशमा मात्र होइन, आफ्नै देशभित्र गुणस्तरीय डाक्टर उत्पादन गर्ने फ्याक्टरी जस्तै प्रणाली विकास गर्नुपर्छ,” उनले भने।

उनले देशभर रहेका आधारभूत स्वास्थ्य चौकीदेखि अस्पतालसम्म छिटो, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्नु आफ्नो प्रमुख एजेण्डा भएको बताए।

पेशागत रूपमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा देशको समग्र स्वास्थ्य प्रणालीमा आमूल सुधार आवश्यक देखेर आफू राजनीतिमा प्रवेश गरेको डा. थापाको भनाइ थियो। “स्वास्थ्य क्षेत्रमा काम गर्दा देखेका समस्या समाधान गर्न नीति निर्माण तहमा पुग्नु आवश्यक ठानेर राजनीतिमा आएको हुँ,” उनले भने।

डा. थापाले मानव संशाधन विकास, मेडिकल शिक्षा सुधार, अनुसन्धान प्रवर्द्धन र स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए। विज्ञ जनशक्ति उत्पादनमार्फत नेपाललाई स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने आफ्नो सपना रहेको उनले दोहोर्‍याए।