“सुरक्षित, शान्त र सभ्य समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सम्बन्ध बलियो हुन जरुरी छ,” : एसपी रामेश्वर पौडेल

832
shares

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले प्रहरी संगठनलाई समाज रूपान्तरण र नागरिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवार निकायको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार प्रहरीको भूमिका केवल अपराध अनुसन्धान र नियन्त्रणमा सीमित नभई समाजलाई सही दिशा दिने दायित्वसँग पनि सम्बन्धित छ ।

उनले प्रहरीलाई “फिल्डका न्यायाधीश” को संज्ञा दिँदै समाजमा उत्पन्न हुने धेरै विवाद, तनाव, दुर्घटना तथा झगडाहरू अदालतसम्म पुग्नुअघि नै प्रहरीको सक्रिय उपस्थितिबाट समाधान हुने गरेको बताए। “प्रहरीको जिम्मेवारी केवल कानुन कार्यान्वयन गर्नु मात्र होइन, समाजमा अनुशासन, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नु पनि हो,” उनले उल्लेख गरे।

एसपी पौडेलका अनुसार ट्राफिक प्रहरीदेखि जनपथ प्रहरीसम्म सबै सुरक्षा निकाय समाजलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउने साझा अभियानमा खटिएका हुन्छन्। सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक शान्ति कायम, पारिवारिक विवाद समाधान तथा नागरिक सुरक्षाजस्ता विषयमा प्रहरी प्रत्यक्ष रूपमा जिम्मेवार रहने उनले बताए।

उनले प्रहरीलाई संकटको समयमा नागरिकको सबैभन्दा नजिकको सहयोगीका रूपमा पनि चित्रित गरे। कुनै दुर्घटना, विपद् वा आपत्कालीन अवस्थाको पहिलो उद्धारकर्ताका रूपमा प्रहरी नै अग्रपंक्तिमा रहने उल्लेख गर्दै उनले प्रहरी संगठनलाई अझ नागरिकमैत्री, संवेदनशील र मानवीय बनाउन आवश्यक रहेको धारणा राखे।

प्रमुख पौडेलले आधुनिक समयमा प्रहरीको भूमिका थप फराकिलो बन्दै गएको उल्लेख गर्दै सामाजिक चेतना अभिवृद्धि, मानवता प्रवर्द्धन, संयमता र नागरिकमा भरोसा जगाउने कार्यमा समेत प्रहरी सक्रिय हुनुपर्ने बताए। “सुरक्षित, शान्त र सभ्य समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सम्बन्ध बलियो हुन जरुरी छ,” उनले भने।

उनले नागरिकलाई प्रहरीप्रति सहयोगी र जिम्मेवार बन्न आग्रह गर्दै प्रहरी संगठनलाई डरको होइन, विश्वासको संस्थाका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083