सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

546
shares

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ धनगढीमा सम्पन्न भएको छ। जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित सिद्धार्थ कटेजको सभाहलमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहकाे प्रमुख आतिथ्यतामा एकदिवसीय गोष्ठी सम्पन्न भएको हो।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौं र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, कैलाली जिल्ला अदालतका न्यायाधीश भुवन सिंह थापा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराई लगायत विभिन्न सुरक्षा निकाय, न्याय क्षेत्र तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 


गोष्ठीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, मातहतका ९ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अपराध अनुसन्धान गर्ने प्रहरी एकाइका प्रमुख तथा अनुसन्धान अधिकृतहरूको सहभागिता रहेको थियो।
उद्घाटन सत्रमा प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, कैलाली जिल्ला अदालतका न्यायाधीश भुवन सिंह थापा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले अपराध अनुसन्धानलाई अझ व्यवस्थित, वैज्ञानिक, प्रमाणमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सीमित स्रोत–साधन, भौगोलिक जटिलता तथा विभिन्न चुनौतीका बीच प्रदेश प्रहरीले अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियालाई अझ व्यावसायिक र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूले अपराध अनुसन्धानको वर्तमान अवस्था, चुनौती, उपलब्धि तथा नवीन प्रयोगहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो। साथै जिल्ला सरकारी वकिल कार्यालय कैलालीका सहायक जिल्ला न्यायाधिवक्ता लोक बहादुर रावलले अपराध अनुसन्धानका क्रममा देखिने त्रुटि, कानुनी प्रावधानको प्रयोग तथा सुधारका क्षेत्रबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा अपराध अनुसन्धानमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो। अन्त्यमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट सहभागी टोलीलाई धन्यवाद ज्ञापन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले गोष्ठीको समापन गर्नुभयो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083