एसपी पवन कुमार भट्टराईले सम्हाले पर्सा प्रहरीको कमान्ड, एसपी सुदिपराज पाठकलाई बिदाइ
वि.सं.२०८३ साउन १३ बुधवार २२:३८
shares

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले सम्हाल्नुभएको छ भने निवर्तमान प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक काज सरुवासँगै काठमाडौं प्रस्थान गर्नुभएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको २०८३/०४/१३ गतेको पत्रादेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट काज सरुवा भई आउनुभएका एसपी पवन कुमार भट्टराईले सोही मितिमा जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भई कार्यालयको कमान्ड सम्हाल्नुभएको हो।

हाजिर पश्चात उहाँले वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूसँग परिचयात्मक भेटघाट गर्दै संगठनको नीति, अनुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच, करिब ११ महिनासम्म जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा कार्यरत रहनुभएका एसपी सुदिपराज पाठक प्रहरी प्रधान कार्यालयको पत्रादेशअनुसार तालुक काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी काज सरुवा हुनुभएको छ। उहाँको कार्यकालमा जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रण तथा संगठनको नीति निर्देशनअनुसार प्रभावकारी कार्यसम्पादन गरेको भन्दै कार्यालयमा “बिदाइ तथा फेरि भेटौँला” कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले एसपी पाठकको सफल कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए भने नवआगन्तुक एसपी भट्टराईलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।





















