लुम्बिनीमा पर्यटकलाई स्वागत

17.24K
shares

रुपन्देही । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोष तथा पर्यटन व्यवसायीले चाइना, भूटान तथा नेपालकै विभिन्न जिल्लाबाट आएका पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो । पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पर्यटनका माध्यमबाट देशमा समृद्धि हासिल गर्न भ्रमण वर्ष शुभारम्भ गरिएका कारण यसलाई सफल बनाउन आवश्यक रहेको बताए।

“भ्रमण वर्ष शुभारम्भका दिन लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिरमा निःशुल्क प्रवेश दिइएको छ, पर्यटन प्रवद्र्धनका लागि वर्षभरि विभिन्न कार्यक्रम बनाएका छौँ”, उनले भने । पर्यटकलाई स्वागत गर्दै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले छुटको घोषणा गरे । लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले नेपाल भ्रमण वर्षमा लुम्बिनी आउने पर्यटकलाई आवासमा १५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

लुम्बिनी महामाया रिक्सा चालक सङ्घका अध्यक्ष नागेन्द्र गिरीले रिक्सामा लुम्बिनी घुम्न चाहने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरे । लुम्बिनी स्थानीय पथपदर्शक अध्यक्ष रञ्जीतकुमार हलुवाइले पर्यटक गाइडमा २५ प्रतिशत छुट दिने बताए । भ्रमण वर्षका लागि महोत्तरीको मनरा नगरपलिकाबाट लुम्बिनी आउनुभएको नगर प्रमुख सञ्जय सिंहले भ्रमण वर्ष शुभारम्भकै दिन लुम्बिनी घुम्न पाउँदा खुशी लागेको बताए ।

भ्रमण वर्षका क्रममा आज वर्माका पर्यटनमन्त्री अन मोङले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ । उहाँ बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिधै लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका सूचना निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083